• ७ मंसिर २०८२, आइतबार

अतिक्रमित संरचना हटाउन आग्रह

blog

हेटौँडाको मुख्य बजार क्षेत्र । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, मङ्सिर ७ गते  । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडकसीमा केन्द्र रेखादेखि २५/२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिइएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गर्दै अतिव्रmमित संरचना हटाउन भनेको हो । डिभिजनले जारी गरेको सूचना अनुसार १५ दिनभित्र सडकको केन्द्र रेखादेखि दायाँबायाँ २५/२५ गज (साढे २२, साढे २२ मिटर अर्थात् जम्मा ४५ मिटर) सम्मको क्षेत्रलाई सडकसीमा मानेको छ । हेटौँडा उपमहानगरपालिका रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुलसम्म तथा बुद्ध चोकबाट सामरी पुलसम्म पर्ने क्षेत्रमा बर्सौंदेखि बनेका स्थायी तथा अस्थायी संरचनाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको क्षमता र सुरक्षामा असर परिरहेको भन्दै सरकारले संरचना हटाउन आग्रह गरेको सूचनामा उल्लेख छ । 

सडक डिभिजन कार्यालय हेटौँडा मकवानपुरका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले सडकसीमा खाली गराउन आवश्यक साधनस्रोत र मेसिनरी औजार सरकारले उपलब्ध गराएकाले यो पटक कार्यान्वयनमा जाने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडकसीमा २५÷२५ गजभित्र बनेका संरचना खाली गरेर सडक विस्तार गरी यातायात सहजीकरण र सुरक्षित गर्न सरोकारवालालाई सूचना जारी गरेर अनुरोध गरेका छौँ । १५ दिनभित्र स्वेच्छिक रूपमा आफ्नो संरचना हटाएर सडकसीमा संरक्षण गर्ने कार्यलाई सहयोग गरिदिने अपेक्षा गरेका छौँ ।” 

 हेटौँडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाको नगर सभाबाट नै सडक विस्तार गरेर अगाडि बढ्ने निर्णय भएको जानकारी दिदैँ नगरपालिका सहजीकरणका लागि तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक विस्तारको विषय सधैँ अनिर्णयको बन्दी बनाइनु हुँदैन, सडक विस्तार हुनु पर्छ, सहयोगका लागि उपमहानगरपालिका तयार छ, सडक विस्तारका व्रmममा घरबारविहीन हुन सक्ने नागरिकका लागि अभिभावकत्व प्रदान गर्न उपमहानगरपालिका तयार छ ।”

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सरकारको जग्गा स्वस्फूर्त खाली गरिदिन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “विरोधका नाममा विरोध गर्नु हुँदैन, विकासलाई कसैले रोक्नु हुँदैन, छिमेकी जिल्ला चितवनमा जस्तै आमनागरिकले नै सहयोग गरेर सडकको जग्गा खाली हुनु पर्छ ।” सडक विस्तारको कार्य अगाडि बढाउन सहयोग गर्न उहाँले आग्रहसमेत गर्नुभएको छ । 

उद्योग वाणिज्य सङ्घ मकवानपुरका अध्यक्ष प्रमोद सिंह रानाभाटले भन्नुभयो, “विरोधी होइनौँ, सडक विस्तार हुनु पर्छ, धेरै व्यवसायी विस्थापित हुने अवस्था आउने भएकाले उहाँहरूको उचित व्यवस्थापन गर्ने बाटो खोज्नु आवश्यक छ ।” २५ गजको सट्टा १६ मिटर वा बाइपास सडकमा जानुपर्ने उहाँको प्रस्ताव छ । सडक डिभिजन हेटौँडा अन्तर्गत पर्ने रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडक केन्द्रबाट २५/२५ गजको क्षेत्रमा क्षतिपूर्ति नपाइने फैसला सर्वोच्चबाट भएको सूचनामा उल्लेख छ । 

“२०८०÷०३÷१० मा यस डिभिजनबाट सडकसीमा अतिव्रmमण हटाउन प्रकाशित सूचनाविरुद्ध परेको रिट निवेदनसमेत सर्वोच्च अदालतबाट खारेज भएको सूचनामा उल्लेख गरिएको छ । रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकसीमा २५/२५ गज (७५/७५ फिट) भित्र बनेका स्थायी तथा अस्थायी घरटहरा र अन्य संरचना यो सूचना प्रकाशित भएका मितिले १५ दिनभित्र हटाई सडकसीमा खाली गरिदिन पुनः यो सूचना प्रकाशित गरिएको छ,” सडक डिभिजन कार्यालयले भनेको छ । 

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको अतिव्रmमित सीमा खाली गराउन विगतमा पटक पटक सूचना जारी गरिँदै आएको थियो । 

सूचनामा तोकिएको १५ दिनभित्र स्वेच्छिक अतिव्रmमण हटाएर सडकसीमा खाली नगरे सडक डिभिजनले संरचना हटाउने र सो व्रmममा पर्ने सबै खर्च सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित कानुन अनुसार सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने चेतावनीसमेत दिइएको छ । कार्यालयले सूचनामा सडक विस्तार, मर्मतसम्भार, आपत्कालीन सेवा सञ्चालन र सवारी आवागमनको सुरक्षित व्यवस्थाका लागि सडकसीमा कायम राख्नु बाध्यकारी भएको उल्लेख गरेको छ । डिभिजनले स्थानीय तह, सुरक्षाकर्मी, उपभोक्ता तथा सरोकारवालासँग समन्वय गरी सडकसीमा संरक्षण अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने जनाएको छ ।