तेह्रथुम, मङ्सिर ७ गते । म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ । एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नति गरिरहेको छ ।
म्याङलुङ–१ का वडाध्यक्ष बुद्धिराज लिम्बूका अनुसार काम सम्पन्न भएपछि हिसाब गरेर आधा–आधा बजेट दुवै वडाले व्यहोर्ने छन् । म्याङलुङ–२ का वडाध्यक्ष राजकुमार लिम्बूले ८० प्रतिशत सडक स्तरोन्नतिको काम सकिएको बताउनुभयो ।
नगरपालिकाको स्काभेटर र ट्याक्टर प्रयोग गर्दै म्याङलुङ–१ र २ नम्बर वडाले मिलेर कच्ची सडक स्तरोन्नति गरिँदै छ । यो सडक सदरमुकामलाई छिमेकी जिल्ला पाँचथरको फिदिमसँग छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण मार्ग हो । यो सडक पाँचथरको कुम्मायक गाउँपालिकाबाट म्याङलुङको शुक्रबारे हटिया आउन प्रयोग हुँदै आएको छ । यो सडक तेह्रथुम–पाँचथर दुवै जिल्लाका बासिन्दाका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।
कुम्मायक गाउँपालिकाका लागि सबैभन्दा नजिकको ठूला हटिया म्याङलुङ भएकाले त्यहाँ उत्पादित दाल, बदाम, मकै, कुखुरा, सुङ्गुरका पाठालगायत कृषि तथा पशुपालनजन्य वस्तु यही बजारमा बिक्री गरिँदै आएको छ । पहिला घण्टौँ हिँडेर कठिन यात्रा गर्दै सामान ल्याउने किसान यो सडक बनेपछि लुबुघाटदेखि म्याङलुङसम्म ट्याक्टरमार्फत सहज रूपमा आवतजावत गर्दै आएका छन् ।
वर्षात्को पानीले खाल्डाखुल्डी बनाएर सवारीसाधन आवतजावतमा कठिनाइ भएपछि सडक स्तरोन्नतिपछि भने कुम्मायकबाट म्याङलुङको हटियामा आउने स्थानीयवासीलाई थप सहज हुने छ । म्याङलुङबाट पाँचथर फिदिम र तमोर करिडोरमार्ग भएर सुनसरीको धरानसम्म आवतजावत गर्न पनि यसबाट सुविधा पुग्ने छ । रासस