• १२ पुस २०८१, शुक्रबार

राष्ट्रिय प्रसारण लाइनसँग हुम्लालाई जोड्न सब-स्टेसन निर्माण गरिने

blog

हुम्लाको राक्सेकाँधमा जग्गा छनौट गर्न पुगेको नेपाल विद्युत प्राधिकरणको टोली । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असार ६ गते ।
 हुम्लामा सब-स्टेसन निर्माणका लागि जग्गा छनोट गरिएको छ । राष्ट्रिय प्रसारण लाइनसँग हुम्लालाई जोड्नका लागि सब-स्टेसन निर्माण गर्न लागिएको हो ।

सब-स्टेसन निर्माणका लागि स्थलगत रूपमा अनुगमन गर्न जिल्ला आई पुगेका नेपाल विद्युत प्राधिकरणको टोलीले गाउँपालिकाको समन्वयमा जग्गा छनोट गरेको हो ।

अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्णबहादुर रोकायाले प्राधिकरणका इन्जिनियर पशुपति ढुङ्गेलको नेतृत्व टोलीले गाउँपालिकाको समन्वयनमा अदानचुली गाउँपालिका –१ को राक्सेकाँधमा जग्गा छनोट गरेको जानकारी दिनुभयो । सो जग्गा सार्वजनिक रहेको उपाध्यक्ष रोकायाले बताउनुभयो ।

यसअघि टोलीले अदानचुलीकै अन्य क्षेत्रमा समेत जग्गा हेर्ने कार्य गरेको थियो । प्राविधिक टोली प्रसारण लाइन विस्तारका लागि सर्भे र सब-स्टेसन निर्माणका लागि जग्गा छनौट गर्न हुम्ला आइ पुगेका हुन् ।

उपाध्यक्ष रोकायाले भन्नुभयो, ‘‘ठुलो काम सब-स्टेसन निर्माणका लागि जग्गा छनोट गर्नु थियो, त्यो पूरा भएको छ । अब प्रसारण लाइन विस्तार गर्ने कार्य चाँडै सुरु हुन्छ ।’’

हालसम्म हुम्ला जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छैन ।