• १३ असोज २०८१, आइतबार

मनसुन देशका सबै भूभागमा पुग्न केही दिन लाग्ने

blog

विष्णु पाण्डेय

काठमाडौं, असार ३ गते । गत जेठ ३१ गते नेपाल भित्रिएको मनसुन अझै देशको पश्चिमी भूभागमा पुग्न सकेको छैन । सामान्यतया नेपालमा मनसुन प्रवेश गरेको चारदेखि पाँच दिनमा देशको पश्चिमसम्म पुग्ने भए पनि अहिले भने पुग्न सकेको छैन । 

देशको पूर्वी भेगमा अविरल वर्षाका कारण बाढी आएका घटनाहरु सार्वजनिक भइरहँदा देशको पश्चिमी भागमा भने गर्मी यथावत् नै छ । मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन देशको सबै भूभागमा पुग्न अझै केही दिन लाग्ने देखिएको छ । 

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले पश्चिमी भूभागमा स्थानीय वायु र पश्चिमी न्यूनचापीय वायु सक्रिय भएर रहेका कारण मनसुन फैलिन ढिला भएको हो। “देशको पूर्वी भागबाट मनसुन प्रवेश गरेको तीनदेखि चार दिनमा देशको पश्चिमी भूभागसम्म विस्तार भइसक्नुपर्ने हो । तर यसपाली पश्चिमी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव सक्रिय रहेका कारण ढिला भएको हो,” उहाँले भन्नुभयो ।

अहिले मनसुन पूर्वी भाग र मध्यपूर्वी भागबाट अघि बढ्न नसकेका कारण पश्चिमी भेगको गर्मी भने कायमै रहने लामिछाने बताउनुहुन्छ । “अहिले मनसुन पूर्वी र मध्यपूर्वी भागबाट अघि बढ्न सकेको छैन । सुरुवातको प्रभाव जहाँजहाँ थियो । अहिले पनि प्रभाव त्यहीँ त्यहीँ छ,” उहाँले भन्नुभयो । 

एक दुई दिनमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कम हुने भएका कारण त्यसपछि भने मनसुनको फैलावट छिटो हुने सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।

मनसुन भित्रिएलगत्तै पूर्वी नेपालमा लगातार पानी परिरहेको छ । आइतबार ताप्लेजुङ्, सिन्धुपाल्चोक, पाँचथर लगायतका जिल्लाका विभिन्न स्थानमा बाढी आएको छ । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।