काठमाडौँ, असार ३ गते । सांसद योगेशकुमार भट्टराईले तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा गएराति अविरल वर्षका कारण ठूलो धनजनको क्षतिलाई न्यूनीकरण गर्न राहत र उद्धारमा जुट्नका सरकार र सरोकारवाला सङ्घसंस्थालगायत सबैमा आह्वान गर्नुभएको छ ।
सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको वैठकमा सांसद भट्टराईले उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँग थप सक्रियताको अपेक्षा गर्नुभयो ।
सचिव भट्टराईले भन्नुभयो, “केही दिनदेखि आएको अविरल वर्षाका कारण पूर्वी पहाडका केही जिल्लामा गम्भीर क्षति भएको छ, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर जस्ता जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ, ताप्लेजुङ जिल्लामा सिदिङ्गा गाउँपालिका, सृजङ्गा गाउँपालिका, मैयाखोला गाउँपालिका र त्रिवेणी गाउँपालिकालगायत विभिन्न स्थानमा बाढीपहिराका कारण दर्जनौँ घर नष्ट भएका छन् ।”
ताप्लेजुङ जिल्लामा अहिलेसम्म पाँच जनाको अवस्था अज्ञात रहेको बताउँदै उहाँले अन्य मानिस पनि सुरक्षा गर्दै नजिकैको विद्यालय, सार्वजनिक स्थानमा आएर बस्नुपर्ने अवस्था आएको बताउनुभयो ।
“सिदिङ्गा गाउँपालिकाको मेहेलेका एउटै परिवारका यादव बुढाथोकीको श्रीमती भगीमाया बुढाथोकी, सन्ध्या बुढाथोकी, प्रज्वल बुढाथोकी, बेपत्ता छन्, त्यसैगरी आङ्खोपमा थुप्रै घर क्षतिग्रस्त भएका छन, सुरुङखिममा पनि दर्जनाैँ घरमा क्षति पुगेको छ, त्यसैगरी ताप्लेजुङको खेवाङमा थुप्रै घर नष्ट भएका छन्”, उहाँले भन्नुभयो ।
ताप्लेजुङका अन्य गाउँपालिकामा समेत ठूलो क्षति पुगेको उहाँको भनाइ छ । ताप्लेजुङका यातायात बन्द भएको र टेलिफोनका टावर विद्युत् गृहमा क्षति पुगेको, पाँचथरमा सडक पुल भत्किएको उहाँको भनाइ छ ।
सांसद भट्टराईले भन्नुभयो, “पूर्वी पहाडमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सरकारले घटनाको सम्पूर्ण जानकारी दिनुपर्छ । विपतिसँग सम्बन्धित भएको हुनाले गृहमन्त्रीले सम्पूर्ण विपत्को अवस्थाको जानकारी सदनमा गराउनुपर्छ ।”
उहाँले पुल र सडकको अवस्थाबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले सदनमा जानकारी दिन माग गर्नुभयो । भत्किएका सडकलाई तत्काल सञ्चालन गर्न, पीडितलाई आवास र खाद्यान्न सङ्कट भएकाले त्यसमा सरकारले व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । रासस