• १३ साउन २०८१, आइतबार

तीन जिल्लामा विद्युत आपूर्ति सहज हुँदै

blog

रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा । तस्बिर : रासस

काठमाडौं, असार १ गते । रामेछाप र आसपासको क्षेत्रमा गुणस्तरीय बिजुली प्रवाहका लागि भौतिक संरचना तयार भएको छ । नेपाल विद्युत प्राधिकरणले रामेछापको मन्थली नगरपालिका –१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सब-स्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सब-स्टेसन पूर्वाधार सञ्चालनमा आएको छ ।

गर्ज्याङ–नयाँ खिम्ती एक सय ३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रूपमा विद्युत आपूर्तिका लागि निर्माण गरिएको सब-स्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । सब-स्टेसनमा ३० एमभिए क्षमताका दुईवटा र ३३/११ केभी, छ/आठ एभिए क्षमताको एउटा पावर ट्रान्सफर्मरहरू राखिएका छन् । स्थानीय रूपमा विद्युत आपूर्तिका लागि सब-स्टेसनबाट ३३ केभीका पाँच र ११ केभीका तीनवटा फिडर लाइन निकालिएका छन् ।

कूल ३३ केभीका फिडरलाई बिहीबार चार्ज गरी मन्थली, दोरम्बा र दोलखाको केही भागमा विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । त्यस्तै, ११ केभीको एउटा फिडर लाइनमार्फत खिम्ती ग्रामीण विद्युत सहकारीलाई आपूर्ति दिइने छ । उक्त सहकारीले दोलखा र रामेछापको केही क्षेत्रमा विद्युतीकरण गरेको छ ।

दोलखामा सञ्चालित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सब-स्टेसन निर्माण गरेको थियो । उक्त सब-स्टेसनमा स्थानीयस्तरका लागि विद्युत आपूर्ति गर्ने कुनै व्यवस्था नभएपछि नेपाल विद्युत प्राधिकरणले १३२/३३/११ केभीको सब-स्टेसन पूर्वाधार बनाएको हो । कूल १३२/३३ केभीको पूर्वाधार तयार भएपछि नयाँ खिम्ती सब-स्टेसनबाट स्थानीयस्तरमा विद्युत आपूर्ति दिन सुरु भएको छ । नयाँ खिम्ती सब-स्टेसनमा माथिल्लो तामाकोशीसहित खिम्ती र लिखू नदी कोरिडोरका जलविद्युत आयोजनाको विद्युत जोडिएका छन् ।

उक्त आयोजनाहरूबाट नयाँ खिम्ती सब-स्टेसनमा प्रवाह भएको विद्युतलाई १३२/३३ केभी सब-स्टेसनमार्फत ३३ र ११ केभीमा झारेर स्थानीय रूपमा आपूर्ति गरिएको छ । बाँकी विद्युतलाई दुई सय २० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्केबर र एक सय ३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघू सब-स्टेसनतर्फ प्रवाह गरिएको छ ।

कूल एक सय ३२/३३/११ केभी सब-स्टेसन सञ्चालनमा आएपछि रामेछाप र दोलखाको केही भागमा त्यहीँबाट विद्युत आपूर्ति दिइएको छ । रामेछापको पूरै क्षेत्रमा र दोलखाको जिरी नगरपालिका, वैतेश्वर तथा तामाकोशी गाउँपालिकाअन्तर्गतका क्षेत्रमा नयाँ खिम्ती सब-स्टेसनबाट विद्युत आपूर्ति दिइएको छ । दोलखाको ती क्षेत्रमा अहिले लामासाँघू सब-स्टेसबाट विद्युत आपूर्ति हुँदै आएको थियो । साथै, सिन्धुलीको सुनकोशी, फिकल र गोलाञ्जोर गाउँपालिकाअन्तर्गतका क्षेत्रमा समेत नयाँ खिम्ती सब-स्टेसनबाट विद्युत आपूर्ति दिइने छ ।

नयाँ खिम्ती सब-स्टेसनबाट आपूर्ति दिन सुरु भएपछि रामेछापलगायत जिल्लामा विद्युत पर्याप्त, भरपर्दो र गुणस्तरीयरुपमा वितरण भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँका अनुसार नयाँ खिम्ती सब-स्टेसनमा जोडिएका जलविद्युत् आयोजनाको विद्युत सिन्धुपाल्चोकको लामोसाँघू हुँदै काठमाडौं र धनुषाको ढल्केवरमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने तथा बढी भएको ढल्केबर–मुजफ्फरपुर हुँदै भारततर्फ निर्यात हुँदै आएको थियो ।

“नयाँ खिम्तीमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि पूर्वाधार नहुँदा, जिल्लाभित्रै ठुलो सब-स्टेसन भएर पनि स्थानीय उपभोक्ताले विद्युत आपूर्ति नपाउँदा भरपर्दो र गुणस्तरीय विद्युत उपभोगबाट वञ्चित थिए”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

नयाँ खिम्तीबाट दुई सय २० केभी प्रसारण लाइनमार्फत ढल्कबेर पुगेको विद्युतलाई ३३ केभी प्रसारण लाइनबाट फेरि यतै ल्याएर सिन्धुली, रामेछापमा आपूर्ति गरिएको थियो ।

“लामो लाइन हुँदा ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्या थिए, अब नयाँ खिम्तीबाट आपूर्ति हुन थालेपछि विद्युत् आपूर्तिमा रहेका समस्याहरू समाधान हुने छन्, उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत पाउने छन्”, उहाँले भन्नुभयो ।

ढल्केबरबाट मन्थलीसम्मको ३३ केभी प्रसारण लाइनको लम्बाइ करिब ८० किलोमिटर छ । लामो तथा जङ्गलैजङ्गलबाट आएको लाइनका कारण रामेछाप र सिन्धुलीका उपभोक्ताले ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्या व्यहोर्दै आएका थिए । अहिले नयाँ खिम्तीबाट विद्युत् आपूर्ति दिन थालेपछि लाइनको लम्बाइ घटेसँगै त्यस क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने, लाइन मर्मतसम्भारमा सजिलो हुने आयोजनाका प्रमुख अनुप गौतमले बताउनुभयो ।

सिन्धुलीको खुर्कोटस्थित सब-स्टेसनसम्म नयाँ खिम्ती सब-स्टेसनबाटै विद्युत आपूर्ति दिइने छ । खुर्कोट सब-स्टेसनबाट विद्युत आपूर्ति हुने सिन्धुलीका सुनकोशी, गोलाञ्चोर र फिकल गाउँपालिकाको विद्युत आपूर्तिमा पनि सुधार हुने छ । अहिले ती सबै क्षेत्रमा ढल्केबर सब-स्टेसनमार्फत आएको लाइनबाट विद्युत आपूर्ति हुँदै आएको छ । 

नयाँ खिम्तीमा १३२/३३ केभीको सब-स्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानीमा निर्माण भएको उक्त सब-स्टेसनको लागत करिब रु ८० करोड रहेको छ । रासस