• १ साउन २०८२, बिहिबार

सेप्टिक ट्याङकीमा काम गर्दा तीनजना बेहोस

blog

सेप्टिक ट्याङ्कीमा बेहोस भएका नागरिकको उद्धार गरिँदै । तस्बिर ; गोरखापत्र

राधा लुइटेल

फिदिम, साउन ३२ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसे पञ्चमीको घुर्बिसे पञ्चमी सहकारी संस्थाको भवनमा सेप्टिक ट्याङकी निर्माण गर्न खटेका तीन जना श्रमिक बेहोस अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उनीहरु बुधबार साँझ करिब साढे पाँचबजे बेहोस अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेहोस भएकाहरुमा फाल्गुनन्द गाउँपालिका–५ का ३८ वर्षीय रत्न चेम्जोङ, २४ वर्षीय भीष्म चेम्जोङ र ४० वर्षीय बिरु चेम्जोङ रहेका छन् । 

उद्वारको समयमा अचेत अवस्थामा भेटिएका उनीहरुलाई उपचारका लागि इलाम जिल्ला अस्पताल लगिएको छ । यद्यपि यो समाचार तयार पार्दा साँझ (सवा आठबजे) सम्म उनीहरुको होस फिरेको छैन ।

कामदारहरू बेहोस भएको सूचना पछि प्रहरी चौकी फाक्तेपबाट प्रहरी सहायक निरीक्षक शेरबहादुर राईकोसहितका प्रहरी र स्थानीयले उद्धारको प्रयास गर्दा ३० वर्षीय स्थानीय संगित चेम्जोङ पनि बेहोस भएका हुनुभएको थियो ।

तर उहाँको भने तत्कालै होस खुलेको बताइएको छ । करिब १० मिटर उचाइको सेप्टिक ट्याङ्कीमा अक्सिजनको मात्रा कम भएर उनीहरु बेहोस भएको उद्धारमा खटेका प्रहरी सहायक निरीक्षक राईले जानकारी दिनुभयो ।

उनीहरुलाई स्थानीय र प्रहरीको प्रयासबाट मात्रै उद्धार सम्भव नभएपछि स्काबेटरको सहयोगमा ट्याङ्कीबाट बाहिर निकालिएको हो ।