• ३२ असार २०८२, बुधबार

गार्मेन्ट उद्योगमा भीषण आगलागी, उद्योग पूर्णरूपमा नष्ट

blog

गार्मेन्ट उद्योगमा गएराति भीषण आगलागीका कारण जलेर नष्ट भएको सामग्री । तस्बिर : सुरेश धामी

सुरेश धामी 
बझाङ, असार ३२ गते ।
बझाङको केदारस्युँ गाउँपालिका–४, बागथला बजारमा रहेको एक गार्मेन्ट उद्योगमा गएराति भीषण आगलागी भएको छ । स्थानीय पुष्पराज भट्टद्वारा सञ्चालित होनैनाथ गार्मेन्ट उद्योगमा गएराति करिब १२ः४५ बजे विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ ।

जस्तापाताले छाएको एकतले तीनकोठे कच्ची भवनमा सञ्चालित उक्त उद्योग आगलागीबाट पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभयोे ।

घटनाको जानकारी राति करिब १ः३० बजे प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बागथलाबाट प्रहरी निरीक्षक हरकसिंह फरालको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो।प्रहरी र स्थानीयवासीको सहयोगमा राति २ बजेपछि आगो नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

उद्योगभित्र रहेका सबै सामग्री जलेर नष्ट भएका छन् भने मानवीय र चौपायाको कुनै क्षति नभएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।  प्रहरीका अनुसार आगलागी भएको भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण सङ्कलन कार्य जारी छ ।