• ४ जेठ २०८३, सोमबार

मधेश प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सुरु

blog

प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीहरु । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी 

जनकपुरधाम, जेठ ४ गते । मधेशको आठ वटै जिल्लाका खेलाडीको सहभागीतामा “खेली मधेश, जिती मधेश” भन्ने मुल नारासहित प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

मधेश खेलकुद परिषद्को आयोजनामा प्रदेशभर खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ परिषद्ले सोमबारदेखि जनकपुरधामस्थित कभर्डहलमा विभिन्न १९ विधामा खेल प्रतियोगिता सुरु गरेको हो । 

प्रतियोगिताअन्तर्गत भलिबल, फुटबल, टेबलटेनिस, खो–खो, ह्याण्डबल, तेक्वान्दो, बास्केटबल, जुडो, ब्याडमिन्टन, भारोत्तोलन, वृद्धिचाल, उसु, हक्कीलगायतका खेल समावेश छन् ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै परिषद्का सदस्य सचिव शिवजीप्रसाद कानुले प्रदेशमा खेलकुद गतिविधिलाई थप सशक्त बनाउँदै युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । उहाँले खेललाई व्यवसायीकरण गर्दै खेलाडी र मधेश प्रदेशको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सदस्य सचिव कानुले परिषद्ले खेलकुद क्षेत्रमा “क्रान्ति ल्याउने” गरी २३ खेल विधालाई अघि बढाउने तयारी गरेको जानकारी समेत दिनुभयो । प्रतियोगिताका खेलहरु प्रदेशका आठवटै जिल्लाका खेल मैदान तथा कभर्डहलमा सञ्चालन हुने उहाँले बताउनुभयो ।

यस्तै सम्बोधनकै क्रममा मधेश प्रदेशका पूर्वमन्त्री तथा मधेश प्रदेश भलिबल सङ्घका अध्यक्ष ज्ञानेन्द्र कुमार यादवले खेलाडीको हकअधिकार, सेवा सुविधा तथा उपयुक्त खेल वातावरण निर्माणका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो । गाउँ–टोलमा लुकेका खेल प्रतिभालाई उजागर गर्न खेलमय वातावरण सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले उत्कृष्ट खेलाडीका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउँदै देशका कुनाकाप्चाबाट खेलाडीलाई राष्ट्रियस्तरसम्म ल्याउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।

प्रतियोगितामा मधेश प्रदेशका आठवटै जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीको सहभागिता रहेको छ । परिषद्काअनुसार प्रत्येक जिल्लाबाट १६७ पुरुष खेलाडी, १०८ महिला खेलाडी, १८ प्रशिक्षक र १० व्यवस्थापक गरी ३०३ जना सहभागी छन् । १९ वटा खेलमा प्रदेशभरबाट कुल दुई हजार ४७२ खेलाडी सहभागी भएका छन् ।

परिषद्का अनुसार दुई करोड ५५ लाख रुपियाँ लागतमा सञ्चालन भएको प्रतियोगितामा प्रथम हुने टोलीलाई २५ हजार रुपियाँ, द्वितीय हुनेलाई १५ हजार रुपियाँ तथा तृतीय हुनेलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।