• २१ वैशाख २०८१, शुक्रबार

गुरुपूर्णिमाको महत्व

blog

भाइबहिनीहरू, गुरु भनेको ज्ञानको अखण्ड ज्योति हो । यस गुरुपूर्णिमाको महत्व र महिमासँगै आफूलाई जन्म दिने मातापिता पनि पहिलो गुरु हो । त्यसर्थ पौराणिक ग्रन्थमा पनि ब्रह्मा, विष्णु र महेश्वरलाई गुरुको स्वरूप मानिएको उल्लेख भएको छ । जसले विद्या, विनय र शिष्टता सिकाइरहेको हुन्छ भने त्यसलाई नै आदर्श जीवनको मूल्य दायित्व बहन गर्न सक्ने असल गुरु मानिन्छ । असल गुरुको चेला नै शिक्षित र कल्याणकारी व्यक्तित्व बन्न सक्छ । त्यसकारण भाइबहिनीहरू गुरुपूर्णिमाको महत्वलाई बुझी सबैले राम्रोसँग पढेर देशको आदर्श नागरिक बन्न सिक्नु पर्दछ है ।

असार महिनाको शुक्ल पूर्णिमाको दिन मनाइने गुरुपूर्णिमाका दिन महाभारत ग्रन्थ रचयिता महर्षि व्यासको जन्म जयन्ती पर्ने भएकाले यसलाई व्यास पूर्णिमा पनि भनिन्छ । गुरुपूर्णिमाको दिन मातापितालाई जस्तै श्रद्धाका साथ गुरुको सम्मान गरी आशीर्वाद लिने परम्परा रहेको छ । त्यसैले धार्मिक, आध्यात्मिक ज्ञानको पाटोमा तìव ज्ञान दिने गुरुलाई धार्मिक पुराणमा ईश्वरको संज्ञा दिएको छ । यस दिन विद्यार्थी भाइबहिनीहरूले आआफ्नो विद्यालयमा पनि सरस्वतीको पूजा गरी गुरु पूजा उत्सवका रूपमा मनाउने गरिन्छ । गुरुपूर्णिमा धार्मिक पर्व भएका कारणले गर्दा नै यसको राष्ट्रिय महत्व रहेको छ । तसर्थ गुरुत्व र शिष्यत्वको भावनालाई केबल विद्यालय र महाविद्यालयमा मात्र सीमित रहन दिनु हुन्न । मानव जीवनको हरेक क्षेत्रमा गुरुको सम्बन्ध रहेको हुन्छ । वास्तवमा गुरु त्यो हो जसले व्यक्तिलाई उसको जीवन सार्थक बनाउन सही र उचित मार्ग दर्शन दिन सक्छ । त्यसैले समाजमा पनि गुरुको ठूलो महत्व रहेको हुन्छ ।