• २७ वैशाख २०८१, बिहिबार

लगानी कोषको कार्यालय स्थापना

blog

बुलबुले समाचारदाता

सुर्खेत, जेठ ३१ गते । नागरिक लगानी कोषले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शाखा स्थापना गरेको छ। कोषले कर्णाली प्रदेशका सेवाग्राहीलाई लक्षित गरेर शाखा स्थापना गरेको हो। 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सोमबार शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो। उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी गरी समृद्ध कर्णाली निर्माणको अभियानमा हातेमालो गर्न कोषलाई आग्रह गर्नुभयो। कोषले सर्वसाधारण एवं विभिन्न सङ्गठित सङ्घ संस्थामा कार्यरत कर्मचारी कामदार तथा संस्थाबाट बचत सङ्कलन गरी बचत लगानी प्रबन्ध गर्दै आएको छ। कोषका कार्यकारी निर्देशक रमण नेपालले कर्णाली प्रदेश सरकार र स्थानीय सरकारले राम्रो प्रतिफलयुक्त योजना ल्याए लगानी गर्न तयार रहेको बताउनुभयो।

कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले सङ्घ, प्रदेश र स्थानीय सरकारसँग मिलेर परियोजनामा लगानी उद्देश्य कोषको रहेको बताउनुभयो। 

सुर्खेतमा स्थापना गरिएको कोषको शाखा कार्यालयबाट परिचयपत्र तथा परिचयपत्र नम्बर वितरण गर्ने, फाँटवारी सङ्कलन तथा इन्ट्री, लेखा प्रणाली प्रदान गर्ने, हिसाब मिलान गर्ने, ऋण सापटी प्रदान तथा फिर्ता गर्ने, अवकाशपछिको अन्तिम भुक्तानीलगायतका सेवा दिइने जनाइएको छ।

शाखा प्रमुख प्रविन राईका अनुसार आर्थिक वर्ष २०८०र८१ देखि आवास कर्जा, सरल कर्जा र जग्गा खरिद कर्जाको सेवासमेत प्रदान गर्ने योजना रहेको छ। शाखा कार्यालय माघमा स्थापना गरिएको भए पनि सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको हो। प्रदेश राजधानीमै कार्यालय स्थापना भएपछि सेवाग्राही पनि आकर्षित भएका छन्। 

शाखा प्रमुख राईका अनुसार हाल दैनिक करिब ५० जना सेवाग्राहीले कार्यालयबाट सेवा लिइरहेका छन्। कोषमा आबद्धता बढाउनका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।