• ११ माघ २०८२, आइतबार

वन्यजन्तु जोगाउन नेपाल–चीन नाकामा संयुक्त गस्ती

blog

लोमन्थाङ गाउँपालिकाको छोसेर र चीनको तिब्वतको सीमा क्षेत्र २७ नम्बर पिल्लरसम्म पुगेर गस्ती गरेको एक्यापको संयोजनमा नेपाल प्रहरी,सशस्त्र प्रहरीको संयुक्त गस्ती । तस्वीर सौजन्यः उमेश पौडेल

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), मङ्सिर २९ गते । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाको छोसेर क्षेत्रमा वन्यजन्तुको सुरक्षाका लागि गस्ती बढाइएको छ । 

अत्याधिक चिसोका कारण चरन क्षेत्रमा हिउँ जमेपछि वन्यजन्तु तल झर्ने क्रममा वन्यजन्तु चोरी शिकारी नियन्त्रण तथा बन्यजन्तुको अवस्था बुझ्न गस्ती गर्न थालिएको हो । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोमान्थाङ र जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत इलाका प्रहरी कार्यालय लेमान्थाङ, सशस्त्र प्रहरी बलको (बिओपी) को टोलीले नेपाल–चीनकाे २७ नम्बर पिल्लरसम्म पुगेर गस्ती गरेको एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो । 

प्रमुख पौडेलले भन्नुभयो, ‘‘जाडोयाम वन्यजन्तुका लागि पनि निकै कष्टकर हुन्छ, चरन क्षेत्रमा आहाराको कमी, बस्ती क्षेत्रमा आउँदा शिकारको जोखिम हुन्छ ।’’ पौडेलका अनुसार गस्तीले संरक्षण क्षेत्रमा गस्ती, चरन खर्कमा पासो थापेको देखेमा हटाउने, अवैध ओसारपसार नियन्त्रणमा सघाएको छ । 

माथिल्लो क्षेत्रमा मङ्सिरदेखि फागुन महिनासम्म चोरी–सिकारका दृष्टिले बढी जोखिम मानिने क्षेत्रमा सुरक्षा निकाय, स्थानीय समुदायसँग मिलेर नियमित गस्ती गर्ने गरिएको छ । जाडोयाममा बस्तीमा मान्छेको सङ्ख्या कम हुने र वन्यजन्तुले घरपालुवा जनावरलाई समेत आक्रमण गर्न सक्ने भएकाले समुदायस्तरमा समेत नियमित निगरानीको संयन्त्र बनाइएको छ ।

एक्यापले बस्ती क्षेत्र नजिकै वन्यजन्तुको निगरानी गर्न समेत क्यामेरा जडान समेत गरेको छ । गस्तीमा एक्यापका प्रमुख पौडेल सहित कर्मचारी, सशस्त्र प्रहरी बलको (बिओपी) छोसेरका प्रहरी निरीक्षक अरुण भण्डारी, इलाका प्रहरी कार्यालय छोसेरका असई विष्णु रानाभाटको टोली थियो । 


सिमा क्षेत्रमा समुद्री सहतदेखि ४९ सय १७ मिटरको उचाइसम्म पुगेको टोलीले चरन क्षेत्रमा हिउँ जमे पनि आहारा प्रजाति र शिकारी प्रजातिका वन्यजन्तुलाई समस्या नभएको जनाएको छ । नेपाल र चीनको सीमा रहेको कोरलास्थित २४ नम्बर पिल्लरबाट २७ नम्बर पिल्लर करिब ७ किलोमिटर टाढा छ । 

कोरला नाकाबाट पश्चिम २३ नम्बर पिल्लरसम्म चिनियाँ र नेपालको सुरक्षा निकायले समेत संयुक्त गस्ती गर्ने गरेका छन् । यस क्षेत्रमा झारल, घोरल, नाउर, हिमचितुवा लगायतका विभिन्न प्रजातिका वन्यजन्तु लगायत चराचुरुङ्गी पाइन्छ । मुस्ताङको चीनको स्वशासित तिब्बतसँग १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ भने कोरला नाका रहेको २४ नम्बर सीमा स्तम्भ समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा  छ ।