• २९ मङ्सिर २०८२, सोमबार

पानीको अभावमा भारततर्फ गैँडा पलायन

blog

बबई समाचारदाता

बबई (बर्दिया), मङ्सिर २९ गते । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका एकसिङे गैँडालाई पानीको अभाव हुन थालेपछि भारततर्फ पस्ने क्रम बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको खाता कोरिडोर हुँदै गैँडा भारत पस्न थालेका हुन् । नेपाल–भारत सीमाक्षेत्रमा पर्ने भारतीय कर्तनिया वन्यजन्तु आरक्षमा अहिले २० वटा गैँडा भएको पुष्टि भारतीय वन्यजन्तु आरक्षले गरेको छ भने नेपालतर्फको बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या घट्दै गएको देखिन्छ । 

कर्णाली नदीले केही वर्षयतादेखि बहाब परिवर्तन गरेका कारण बर्दिया राष्ट्रिय निकुञ्जतर्फको कर्णालीको गेरुवा भँगालोमा पानीको सतहसमेत घट्दै गएको छ भने बर्दिया राष्ट्रिय निकुञ्जभित्र पानीको निकै अभाव देखिन थालेको छ । जसले गर्दा आहाल बस्न मन पराउने गैँडा भारततर्फ जान थालेको स्थानीयले जानकारी दिएका छन् । 

बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले भारतको कर्तनिया वन्यजन्तु आरक्षमा अहिले २० वटा गैँडा भएको दाबी आरक्षले गरेको छ । ती गैँडा नेपालबाट गएको हुन सक्ने आशङ्का गरिएको बताउनुभयो । २०७६ सालमा गैँडा गणना हुँदा बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा गैँडा थिए । अहिले निकुञ्जमा १८ वटा मात्र गैँडा देखिएका छन् । पानीको अभावमा भारततर्फ पस्न थालेका गैँडालाई कति पटक नेपाल–भारत सीमाक्षेत्रका सुरक्षाकर्मीले फर्काएका भए पनि गैँडा भारत पस्ने क्रम रोकिएको छैन । 

बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख विश्वबाबु श्रेष्ठले कर्णाली नदीले पानीको बहाब परिवर्तन गर्दै जाँदा वन्यजन्तुलाई पानी अभाव हुँदै गएको बताउनुभयो । उहाँले पानीको अभावले पनि वन्यजन्तु जङ्गलबाहिर निस्कन सुरु गरेको बताउनुभयो । पहिले बर्दियामा एकसिङे गैँडा अवलोकन गर्न आउने पर्यटकले सामुदायिक वनक्षेत्रमा पनि गैँडा सजिलै देख्न पाउँथे तर पछिल्लो समय गैँडा देख्नसमेत छाडिएको छ । 

नेपालको वनभित्र रहेका गैँडा नेपाल–भारत सीमाक्षेत्रमा पर्ने खाता कोरिडोर हुँदै भारत जान थालेपछि गैँडा लोप हुने चिन्तासमेत थपिएको छ । पर्यापर्यटन मञ्च बर्दियाका अध्यक्ष कृष्णप्रसाद भट्टराईले यसरी गैँडा भारत पस्दै गएमा केही वर्षपछि गैँडा खोज्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।