सिँजा समाचारदाता
सिँजा (जुम्ला), चैत २९ गते । हिमाली जिल्ला जुम्लामा यस वर्ष नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक आइपुगेका छन् । शैक्षिक सत्र सुरु हुनुअगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको जुम्ला सदरमुकाम खलङ्गा बजारस्थित सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काले जानकारी दिनुभयो ।
खड्काले कक्षा १ देखि १० सम्मको पाँच/पाँच सय सेट पाठ्यपुस्तक आइपुगेको जानकारी दिनुभयो । सामुदायिक विद्यालयलाई चाहिने आवश्यक सबै पाठ्यपुस्तक उपलब्ध गराइने उहाँको भनाइ छ । विद्यालयको माग अनुसार बाँकी पाठ्यपुस्तक पनि जिल्लामा पुग्ने सञ्चालक खड्काले बताउनुभयो । जुम्लाका सामुदायिक विद्यालयलाई जिपी स्टेसनरी र सन्ध्या स्टेसनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् ।
जिल्लाभर करिब १४५ सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जुम्लामा वैशाख पहिलो साताबाट भर्ना अभियान सुरु हुने भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार विगतमा शैक्षिक सत्र सुरु भइसक्दासमेत विद्यार्थीको हातमा पुस्तक हुँदैनथ्यो । यो पटक विद्यालय सञ्चालन हुनुअघि नै पाठ्यपुस्तक आइपुगेको छ । पाठ्यपुस्तक समयमै आइपुगेकाले पठनपाठनमा सहज हुने थापाका भनाइ छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय नेपालगन्जले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै कर्णाली प्रदेशमा पाठ्यपुस्तक बिक्री वितरण गरेको हो । नयाँ शैक्षिक सत्र २०८३ का लागि चैत २४ गतेसम्म नेपालगन्ज कार्यालयबाट चार लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख रुद्र खनालले बताउनुभयो ।
उहाँका अनुसार नेपालगन्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच जिल्लासहित १० वटा जिल्लामा पाठ्यपुस्तक वितरण हुने गरेको छ । सरकारले देशभर नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि गर्ने निर्णय गरिसकेको छ ।
जाजरकोटमा पुग्यो पाठ्यपुस्तक
जाजरकोटमा नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै पाठ्यपुस्तक आइपुगेका छन् । आगामी शैक्षिक सत्र २०८३ सुरु हुन केही दिन बाँकी छँदै जनक शिक्षा सामग्री केन्द्रबाट अनुमति पाएका व्यवसायीले पाठ्यपुस्तक खरिद गरी जिल्ला भित्र्याएका हुन् ।
शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक आउने क्रम जारी रहेको बताउनुभयो । उहाँले स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद विकास शाखामार्फत विद्यालयमा पुस्तक जाने प्रक्रिया भइरहेको जानकारी दिनुभयो ।
भेरी नगरपालिका–३, ठाँटीबजारस्थित राजेन्द्र एन्ड देवेन्द्र पुस्तक पसलका प्रोप्राइटर देवेन्द्रप्रसाद शर्माले जिल्लामा पर्याप्त पाठ्यपुस्तक आइपुगेको बताउनुभयो । उहाँका अनुसार त्रिभुवन माध्यमिक विद्यालय र भगवती माध्यमिक विद्यालयलगायतका धेरै विद्यालयमा पाठ्यपुस्तक पठाइसकिएको छ । जनक शिक्षा सामग्री केन्द्रले समयमै पुस्तक तयार पारेका कारण दुर्गम जिल्लामा पनि शैक्षिक सत्रअगावै पुस्तक पु¥याउन सम्भव भएको उहाँको भनाइ छ ।
भगवती माध्यमिक विद्यालयका शिक्षक डिलबहादुर खत्रीले पाठ्यपुस्तक विद्यालयमा प्राप्त भइसकेको पुष्टि गर्नुभयो । पुस्तक ढुवानीको जिम्मा पाएका व्यवसायीले समयमै विद्यालयसम्म पुस्तक पु¥याइदिएको उहाँले बताउनुभयो ।
यस्तै शिवालय गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख मानबहादुर बस्नेतले सामुदायिक विद्यालयमा ढुवानीको जिम्मेवारी पाएका व्यवसायीले पुस्तक ल्याइसकेको र केही दिनभित्रै सबै विद्यालयका विद्यार्थीको हातमा पुस्तक पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार विद्यालयसँगको सम्झौताबमोजिम व्यवसायीले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक ढुवानी गरेका हुन् । जाजरकोटभर कुल ४२३ वटा सामुदायिक विद्यालय रहेका छन् । सरकारले सञ्चालन गर्ने भर्ना अभियानकै क्रममा यस वर्ष विद्यार्थीले हातमा पुस्तक पाउने भएका छन् । कक्षा १ देखि १० सम्मका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरकारले निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आएको छ ।