• २९ चैत २०८२, आइतबार

स्थायी बसोबास र रोजगारी पाउने आसमा मुक्त कमैया

blog

घोडाघोडी–८ मा रहेको आमफाँटा मुक्त कमैया शिविर । तस्बिर : चाँदनी आचार्य

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), चैत २९ गते । कैलालीका विभिन्न पालिकामा बसोबास गर्ने मुक्त कमैयामध्ये धेरैको अझै बसोबासको ठेगान छैन । मुक्त भएको २५ वर्ष पुग्न लाग्दा उनीहरूले मुक्त कमैयाको परिचयपत्र त पाएका छन् तर आफ्नो नाममा जग्गाधनी पुर्जा भने पाएका छैनन् ।  कैलालीको घोडाघोडी नगरपालिका–८, आमफाँटा मुक्त कमैया बस्तीका रामलाल चौधरीले परिचयपत्र पाए पनि अहिलेसम्म आफ्नो भाइले जग्गा नपाएको बताउनुभयो । आफूसँगै बसेका भाइ शिवप्रसाद अहिले रोजगारीका लागि भारतमा रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले राज्यसँग धेरै पटक आफ्ना समस्या राखे पनि मुक्त कमैयाको समस्या सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पहिला भाइले रातो परिचयपत्र पाउन छुट्यो । अहिले परिचयपत्र, छ बसोबासको व्यवस्था छैन ।” घोडाघोडी नगरपालिका–४, बाटुलीचौरमा २१ घर मुक्त कमैयाको अस्थायी शिविर छ । परिचयपत्र पाएका तर बसोबासको ठेगान नभएका उनीहरू २०६० सालमा बाटुलीचौरमा अस्थायी रूपमा बस्दै आएका छन् । शिविरका जुगराम चौधरीले सरकारबाट जग्गा पाउन छुटेका आफूहरूको अहिलेसम्म व्यवस्था हुन नसकेको गुनासो गर्नुभयो । नयाँ सरकारले आफूहरूका लागि केही गर्छ कि भन्ने आस पलाएको उहाँले बताउनुभयो ।

मुक्त कमैया बस्तीमा अर्को मुख्य समस्याका रूपमा बेरोजगारी रहेको छ । रामलाल र जुगरामका छोराबुहारी काम गर्न भारत गएका छन् । रामलालले १३ जना रहेको आफ्नो परिवारमा छ जना भारतमा काम गर्न गएको बताउनुभयो । “यतै रोजगारी पाएको भए भारत जाने थिएनन् । नेपालमै उद्योग, कलकारखाना खुले त हामीले काम पाउने थियौँ, उहाँले भन्नुभयो । सरकारले दिएको पाँच कट्ठा जमिनमा घरबास बनाएका शिविरका अधिकांश कामको खोजीमा भारत जाने गर्छन् । आमफाँटा शिविरका टीकादेवी चौधरीले गाउँका अधिकांश युवा कामका लागि भारत जाने गरेको बताउनुभयो । उहाँले भारतमा जोखिम मोलेर काम गर्दा कतिपयले उतै ज्यान गुमाउने गरेको दुःखेसो गर्नुभयो ।

आमफाँटा शिविरमा दुई सय परिवार मुक्त कमैया छन् । घोडाघोडी नगरपालिकाका–१२ वटा वडामा मुक्त कमैया शिविर रहेका छन् । कैलालीमा सबैभन्दा बढी मुक्त कमैया शिविर रहेको घोडाघोडी नगरपालिकालाई मानिन्छ । मुक्त कमैयाले जग्गा पाउन छुटेकाका लागि लालपुर्जासहितको बसोबासको व्यवस्था र नेपालमै काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।