• २७ वैशाख २०८१, बिहिबार

एक्काइस वर्षपछि पक्की पुल

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ ३१ गते । राप्ती राजमार्ग अन्तर्गत रुकुमपश्चिमको खौला–सल्ले सडकखण्डको साँख खोलामा सडक पुगेको २१ वर्षपछि पक्की पुल निर्माण गरिएको छ। जिल्लाको सबैभन्दा पुरानो यस सडकखण्डको मुसीकोट नगरपालिका–४ र ११ जोड्ने पुल निर्माण गरिएको हो।

स्थानीय लोकबहादुर केसीले पक्की पुल निर्माण भएपछि स्थानीयलाई सजिलो भएको बताउनुभयो। दुई दशकपछि सडकले पक्की पुल पाएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो। अब यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई सजिलो हुने केसीको भनाइ छ। एक स्पान, ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको यो पुल निर्माणका लागि इलाइट सूर्य जेभीले ठेक्का सम्झौता गरेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर रिकेश महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार २०७७ साउन महिनामा काम सम्पन्न गर्ने गरी २०७४ साल असार २८ गते सम्झौता भएको थियो। तोकिएको समयमा काम नभएपछि २०७९ साल पुस २५ भित्र सम्पन्न हुने गरी म्याद थप गरिएको थियो। ११ करोड १० लाख ६१ हजार रुपियाँमा सो पुल निर्माण ठेक्का लागेको थियो।

इन्जिनियर महर्जनका अनुसार सल्यानको पटारे र यो पुलका लागि एउटै ठेक्का लागेको थियो। पटारेको पुल भने अघिल्लो वर्ष नै निर्माण भएर सञ्चालन भएको छ। साँख खोलामा पुल निर्माणको काम ढिला गरी सुरु भएको र ढलान गरेको केही दिनमै पुल भत्किएका कारण समय गुज्रेको थियो। पुल निर्माणको काम अन्तिम चरणमा पुगेको बेला २०७८ साल असारमा पुल भत्किएको थियो। 

हस्तान्तरण नहुँदै सञ्चालन

निर्माण सम्पन्न भएको पुल हस्तान्तरण भएको छैन। बेलिब्रिज जोखिमपूर्ण रहेको र पुलबाट यातायात साधन वारपार गर्दा समस्या नहुने भएकाले यातायातका साधन सञ्चालन भइरहेका छन्। इन्जिनियर महर्जनका अनुसार अब पुलको दुवैपट्टि बोर्ड राख्न मात्र बाँकी रहेको छ। यसका साथै पुलको भार क्षमतासमेत मापन भएको छैन। अब तत्कालै भार क्षमता मापन गरेर पुल हस्तान्तरण गरिने जनाइएको छ।

२०५९ सालमा ट्र्याक खुलेर गाडी चल्न थालेको यस खण्डमा पर्ने साँख खोलामा यसअघि बेलिब्रिजबाट सवारीसाधन वारपार हुँदै आएका थिए। बेलिब्रिज जीर्ण बनेपछि केही वर्षदेखि जोखिमपूर्ण अवस्थामा सवारी वारपार गरिरहेका थिए। बेलिब्रिजका पाता र अन्य सामग्री फेर्दासमेत जीर्ण बन्दै गएपछि पक्की पुल निर्माण गरिएको हो।