काठमाडौँ, जेठ २९ गते । दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा उत्कृष्ट फिचर चलचित्रको अवार्ड ‘झिँगेदाउ’ ले जितेको छ । काभ्रेको भकुण्डेबेँसीमा शनिबार आयोजित समारोहमा गत वर्षको हिट चलचित्रलाई उक्त अवार्ड प्रदान गरियो । महोत्सवमा उत्कृष्ट फिचर चलचित्र पटकथाको अवार्ड ‘प्रकाश’ बाट विकास सुवेदीले प्राप्त गरे ।
चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा फिचर चलचित्रतर्फ उत्कृष्ट अभिनेताको अवार्ड ‘झिँगेदाउ’ बाट मुकुन भुषालले प्राप्त गर्दा उत्कृष्ट अभिनेतृको अवार्ड ‘प्रकाश’बाट दीया मास्केलाई प्रदान गरियो । फिचर चलचित्र जुरी अवार्ड ‘प्रकाश’लाई प्रदान गरियो । निर्देशक दिनेश राउतले उक्त अवार्ड ग्रहण गर्नुभयो । उत्कृष्ट फिचर चलचित्र निर्देशकको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गर्नुभयो । उत्कृष्ट फिचर चलचित्र छायाकारको अवार्ड पनि ‘डेसान’ले प्राप्त गर्यो । छायाकार चक्रबहादुर महर्जनले उक्त अवार्ड हात पार्नुभयो ।
उत्कृष्ट डकुमेन्ट्री अवार्ड ‘हल्कारा’ ले प्राप्त गर्यो । निर्देशक दयाराम घिमिरेले उक्त अवार्ड लिनुभयो । उत्कृष्ट सर्ट चलचित्र निर्देशक म्युजिकल्ली अवार्ड ‘कथा एकादेशको’ लागि दीपक आचार्यलाई प्रदान गरियो । उत्कृष्ट भाषिक चलचित्रतर्फको अवार्ड गुरुङ चलचित्र ‘आफ्नै कर्म’ लाई प्रदान गरियो । उत्कृष्ट सर्ट चलचित्र जुरी अवार्ड ‘परिवर्तन’ बाट सरिता भारतीलाई प्रदान गरियो । उत्कृष्ट सर्ट चलचित्र निर्देशकको अवार्ड पनि ‘परिवर्तन’ बाट डब्बु क्षेत्रीले प्राप्त गरे । उत्कृष्ट सर्ट चलचित्रको अवार्ड भने ‘चरित्र’ लाई प्रदान गरियो । उत्कृष्ट सर्ट चलचित्र अभिनेताको अवार्ड ‘परिवर्तन’ बाट प्रवण भुसालले प्राप्त गर्नुभयो । उत्कृष्ट सर्ट चलचित्र अभिनेतृको अवार्ड ‘चरित्र’ बाट स्रोता आचार्यले जित्नुभयो ।