• २ साउन २०८१, बुधबार

‘राजनीतिमा उमेर हद तोक्ने विषय प्राकृतिक हुनुपर्छ’

blog

काठमाडौं, जेठ २८ गते । नेकपा (एमाले) ले पछिल्लो समय विधानमा रहेको केन्द्रीय कमिटी सदस्यको ७० वर्षको उमेर हदको व्यवस्था हटाएको छ । यससँगै राजनीतिमा उमेर हदको व्यवस्था, यसको आवश्यकता तथा कार्यान्वयनको विषय पुनः चर्चामा आएको छ । 

राजनीतिशास्त्री चन्द्रदेव भट्ट यस सम्बन्धमा सैद्धान्तिक र व्यवहारिक दुई पाटोबाट दृष्टिकोण राख्नुहुन्छ । उहाँले साधारणतया, सैद्धान्तिक हिसाबमा राजनीतिमा उमेर हद लाउन नमिल्ने बताउनुभयो । नयाँ पुस्तालाई नल्याउने, पुरानो पुस्ताले छोड्दै नछोड्ने राजनीतिक इमान्दारिता नहुँदा उमेर हद लाउनुपरेको उहाँको भनाइ छ । 

नयाँ पुस्तालाई नल्याउने, पुरानो पुस्ताले छोड्दै नछोड्ने । त्यसलेगर्दा राजनीतिमा उमेर हद आवश्यक भएको हो ।

भट्टले भन्नुभयो, “हामीकहाँ उमेर हद लाउने कारण के भयो भने राजनीतिमा इमान्दारिता भएन । किनभने नयाँ पुस्तालाई नल्याउने, पुरानो पुस्ताले छोड्दै नछोड्ने । त्यसलेगर्दा राजनीतिमा उमेर हद आवश्यक भएको हो । तर त्यसको पछाडि अर्को के कारण छ भने आफूलाई सुविधा हुँदा उमेर हद लगाइदिने, असुविधा हुँदैमा फेरि त्यसलाई हटाइदिने ?”

पछिल्लो समय, एमालेले उमेर हद हटाएको सन्दर्भमा उहाँले भन्नुभयो, “हिजो एउटा अवस्था थियो, त्यही भएर ल्याएको थियो । कसैलाई आउट गर्नु थियो । अहिले फेरि कसैका लागि ७० वर्षको कुरा आयो ।” छिमेकी मुलुक भारतमा बीजेपीले ७५ वर्षको उमेर हद राखेकोमा यो कार्यान्वयन भएको उहाँको भनाइ छ । 

प्राकृतिक पुस्तान्तरण हुनुपर्छ 

उहाँले नेपालको राजनीतिमा सबैभन्दा ठुलो समस्या पुस्तान्तरण नहुनु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अलिकति प्रोएक्टिभ भयो, एक्टिभ भएन । एक्टिभ भएको भए चाहिँ पुस्तान्तरण हुन्थ्यो होला । राजनीतिमा हाम्रो सबभन्दा ठुलो समस्या राजनीतिमा पुस्तान्तरण नभएको हो । पुस्तान्तरण नभएकाले एउटा संयन्त्र उमेर हद लायौँ । यो चाहिँ समाधान होइन  ।”

प्रकृतिको विरुद्धमा गइरहेका छौं, हामी । प्राकृतिक प्रक्रिया सञ्चालन गर्ने भए, त्यस्तो उमेर हद लाउनै पर्ने थिएन । 

पुराना पुस्ताले बिस्तारै छोड्ने यो प्राकृतिक प्रक्रिया हुनुपर्ने उहाँको भनाइ छ । “उहाँहरूले बिस्तारै छोडेर प्राकृतिक प्रक्रिया हुनुपर्ने हो, प्रकृतिको विरुद्धमा गइरहेका छौँ, हामी । प्राकृतिक प्रक्रिया सञ्चालन गर्ने भए, त्यस्तो उमेर हद लाउनै पर्ने थिएन । पूर्वीय संस्कारमा जीवनको चार वटा भाग बाँडेको छ, कुन उमेरमा के काम गर्ने भनेर” उहाँले भन्नुभयो । तर यो दर्शनमा पनि राजनीतिक दल नबाँधिएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “पूर्वीय संस्कारमा जीवनमा चार वटा भागमा के–के काम गर्ने छुट्याइएको छ । त्यो बाट पनि नबाँधिने, नियम कानुनबाट पनि नबाँधिने, अन्तरपुस्तात्मक न्यायका लागि पनि तयार नहुने । त्यसलेगर्दा चाहिँ समस्या भयो ।” नयाँ पुस्ताको चुनौती सामना नयाँले नै गर्नसक्ने भन्नुहुँदै उहाँले अहिलेको परिप्रेक्ष्य बदलिएको अवस्थामा सोहीअनुसार नेतृत्व बदलिनु पर्ने भनाइ राख्नुभयो । 

एउटै मान्छे पाँच–पाँच पटक प्रधानमन्त्री हुँदा देशमा उसको योगदान के हुन्छ भन्ने हिसाबबाट विचार गर्नुपर्छ उहाँले भन्नुभयो । “राजनीति यस्तो पेसा भयो, जुन पेसामा तपाई कहिले पनि सेवा निवृत्त हुनै पर्दैन । एक त युवाले पनि काम गर्न सकेका छैनन् । राजनीतिमा इमान्दारिता चाहिन्छ” उहाँले भन्नुभयो । 

उमेरसँगै परिपक्वता विकास 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत राजनीतिशास्त्रका पूर्व विभागीय प्रमुख प्राध्यापक डा. मीना वैद्य मल्लले उमेर हदको विषय बारम्बार उठ्ने र फेरि सेलाउने गरेको बताउनुभयो । उमेर हदको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उहाँको भनाइ छ । 

डा. मल्लले भन्नुभयो, “यो त विद्यार्थी नेतामा पनि लागू भएको छ । २८ वर्षसम्मको विद्यार्थी या यसभन्दा माथिको उमेर नराख्ने छलफलको विषय भएको छ । उमेरले धेरै अर्थ राख्छ । धेरै उमेर भएपछि मानसिक स्थिति, मानसिक सन्तुलनमा स्मरण शक्तिको हिसाबले कमजोर हुने यो एउटा प्राकृतिक प्रक्रिया हो । यसलाई त हामी चुनौती दिन सक्दैनौँ ।”

तर बढ्दो उमेरमा मान्छे पुगेपछि परिपक्वता विकास हुने उहाँले बताउनुभयो । “६५–७० वर्ष पुगेपछि मान्छेमा एउटा परिपक्वताको विकास हुँदोरहेछ । अनुभव हासिल भइसकेको परिपक्वता । तर के लाग्छ भने हामी अलिकति मध्यम मार्गमा बस्नुपर्छ कि जस्तो लाग्छ” उहाँले भन्नुभयो । 

सरकारी अधिकारी ५८ वर्षको उमेरमा सेवा निवृत्त हुन्छन्, म ६३ वर्षमा सेवा निवृत्त भएँ । राजनीतिक नेतृत्वमा उमेर हद नहुनु भनेको चाहिँ अलि नमिलेको, अस्वाभाविक हो कि जस्तो मलाई लाग्छ ।

नेपालमा मात्र नभई विश्वका विभिन्न देशहरूजस्तो अमेरिकाको राष्ट्रपति ८० वर्षभन्दा बढी उमेरको भएको भन्नुहुँदै उहाँले थप्नुभयो, “धेरै देशका राज्य प्रमुख, सरकार प्रमुख ८० उमेरको आसपासका छन् । उमेरले अनुभव सँगालिसकेको हुन्छ । तर उमेर सँगसँगै मानिस बुढो हुँदैजान्छ, यो एउटा प्राकृतिक नियम हो । उसको नयाँ सिक्न सक्ने शक्ति पनि अलिकति ह्रास भएर जान्छ । आकर्षण त्यति नहुन सक्छ । अनि विज्ञान र प्रविधिमा पनि त्यति अपडेट नहुन सक्छ ।”

त्यसकारण यस विषयमा लामो विवाद नगरी प्राकृतिक नियमलाई स्वीकार गर्नुपर्ने उहाँको धारणा छ । उहाँले भन्नुभयो, “म चाहिँ यति वर्ष, उति वर्ष भन्न चाहन्नँ । त्यो आफ्नो देश, काल, परिस्थिति, जलवायु, परिवेशअनुसार उमेर हुनसक्छ । नेपालको औसत आयु दर पनि बढ्दैगएको छ । सरकारी अधिकारी ५८ वर्षको उमेरमा सेवा निवृत्त हुन्छन्, म ६३ वर्षमा सेवा निवृत्त भएँ । राजनीतिक नेतृत्वमा उमेर हद नहुनु भनेको चाहिँ अलि नमिलेको, अस्वाभाविक हो कि जस्तो मलाई लाग्छ ।” यसमा वस्तुस्थितिपरक अध्ययन एवम् अनुसन्धान हुनुपर्छ ।” 

योगदानका लागि पद नै चाहिन्छ भन्ने होइन 

उहाँले देश र समाजमा योगदान गर्न पदमै बस्नुपर्ने भन्ने नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले म ६५ वर्ष भएँ । अहिले पनि कसैले मलाई योगदान गर्न बोलाए भने म पदमा छैन भनेर भन्न मिल्दैन । ममा समाजको लागि केही गर्छु भन्ने प्रतिबद्धता छ । यसोगर्दा युवा पुस्तालाई अघि आउन अवसर मिल्नेछ ।” उहाँले देशको ठुलो युवा जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा युवालाई अवसर प्रदान गर्न पनि यसको आवश्यकता रहेको औँल्याउनुभयो ।  

उहाँले भन्नुभयो, “अप्रत्यक्षरुपमा योगदान त गर्न सकिन्छ नि, होइन ? खाली पदमै बसेर योगदान गर्ने भन्ने कुरा आउँदैन । अनुभव, ज्ञान, सीप, बुद्धि साझा गर्न सकिन्छ, यसको लागि पद नै चाहिन्छ भन्ने होइन ।”

आफूलाई नमिले नबनाउने, त्यसलाई बङ्ग्याउने र अन्त्य गर्ने, आफूलाई मिल्यो भने बनाउने यस्तो चीजबाट डेमोक्रेसी कहिल्यै टिकाउ हुँदैन ।

आफूभन्दा ठुलाबाट सानाले अपेक्षा पनि गरिरहेको हुनाले राजनीति नयाँ पिँढीलाई आकर्षण गर्ने थलो बन्नुपर्ने उहाँले बताउनुभयो । “आफू अनुकूल नियम, कानुनलाई संस्थागत गर्नका लागि म, आफू, हामी भन्ने चीजबाट टाढा रहनुपर्छ । आफूलाई नमिले नबनाउने, त्यसलाई बङ्ग्याउने र अन्त्य गर्ने, आफूलाई मिल्यो भने बनाउने यस्तो चीजबाट डेमोक्रेसी कहिल्यै टिकाउ हुँदैन । यसका लागि नियम, कानुन राष्ट्रपरक र जनतापरक हुनुपर्छ । यसले जनता र राष्ट्रलाई केही दिन्छ भने यसमा लागौँ । म एउटा व्यक्ति ८० देखि ९० वर्षसम्म बाँचुँला, त्यो एउटा व्यक्तिको लागि होइन । समग्र राष्ट्रको विकास, जनताको भलाइ र हित हुने काम गर्नुपर्छ ।”

उमेर हदको विषय हचुवाको भरमा नभई अध्ययन, अनुसन्धानमा आधारित हुनुपर्ने र यो परिणामउन्मुख हुने उहाँको भनाइ छ । “कुनै पनि निर्णय, अध्ययन अनुसन्धानको आधारमा गरिन्छ भने यो परिणामउन्मुख र अर्थपूर्ण हुन्छ” उहाँले भन्नुभयो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।