ढोरपाटन (बागलुङ), जेठ २२ गते । बागलुङका दुई बजारको फोहाेर व्यवस्थापन हुन सकेको छैन । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र जैमिनी नगरपालिकाको केन्द्र बजारको फोहाेर व्यवस्थापन हुन नसकेको हो । जिल्लाकै दोस्रो ठुलो व्यापारिक केन्द्रका रूपमा रहेको बुर्तिबाङमा तीव्र गतिमा बजारीकरण भइरहेको छ, तर सही रूपमा फोहाेर व्यवस्थापन नहुँदा वातावरणनै प्रदूषित हुने गरेको छ ।
दक्षिण बागलुङको बजारका रूपमा विकास हुँदै गएको कुश्मिसेराको फोहाेर अहिले जैमिनीधाम जाने सडक छेवैमा डम्पिङ हुँदै आएको छ । यसका कारण त्यस क्षेत्रमा दुर्गन्धित फैलिएको छ । नगरपालिकाले यसको व्यवस्थापन गर्न सकेको छैन । फोहाेरको दुर्गन्धका कारण यात्रु समस्यामा परेका छन् । बुर्तिबाङ बजारको फोहाेर अहिले वडा नं ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ ।
झण्डै ८ वर्षदेखि बाघखोरमा नगरपालिकाले फोहाेर फाल्दै आएको छ । नगरपालिकाले बाघखोरमा व्यवस्थापन गरेको फोहाेर ठुलो वर्षा हुँदा बगेर तमानखोलामा पुग्ने गरेको छ । फोहाेरले तमानखोला र भूजीखोलासमेत दूषित बनेका छन् । यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन् । फोहाेरबाट जलचर प्राणीलाईसमेत असर पुगेको छ । अहिले फोहाेर व्यवस्थापन गर्दै गरेको स्थान बुर्तिबाङ–तमानखोला सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ । सडकमा दैनिक सयौँ यात्रु आवतजावत गर्छन् ।
नगरपालिकाले खोला छेउमा फोहाेर थुपारेर दैनिक आगो लगाउँदा धुँवाले सडकमा यात्रा गर्न गाह्रो हुने स्थानीय तेजबहादुर विकले बताउनुभयो । गर्मीको समय फोहर कुहिएर टाढासम्म गन्ध आउने गरेको उहाँको भनाइ छ । यस ठाउँमा फोहाेर सही रूपमा व्यवस्थापन हुन नसक्दा हैजा फैलिने जोखिम बढेको विक बताउनुहुन्छ ।
ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले फोहाेर व्यवस्थापनका लागि जग्गा खोज्न सुरु गरेको बताउनुभयो । वर्षौँदेखि नै यहाँ फोहाेर फालिँदै आएको भन्दै नयाँ सहर आयोजनासँग सहकार्य गरेर ‘डम्पिङसाइड’ निर्माण गर्ने उहाँको भनाइ छ । सङ्घीय सरकारले फोहाेर व्यवस्थापनका लागि ८७ लाख विनियोजन गरेको भन्दै जग्गा व्यवस्थापन हुनासाथ अहिलेको ठाउँबाट फोहाेर हटाउने उहाँ बताउनुहुन्छ ।
कुश्मिसेराको फोहाेर व्यवस्थापनका लागि जग्गाकै समस्या छ । नगरपालिकाले जग्गा खोजीरहेको भन्दै गरे पनि अहिलेसम्म पार्यप्त पाउन नसक्दा फोहाेर व्यवस्थापनमा ढिलाइ भएको उपप्रमुख हरिहर शर्माले बताउनुभयो । औद्योगिकग्रामका लागि करिब एक सय रोपनी र फोहाेरका लागि १५ रोपनी जग्गा आवश्यक परेको उहाँको भनाइ छ । दुईवटै संरचनाका लागि जग्गा प्राप्त गर्नासाथ फोहाेर व्यवस्थापन हुने उपप्रमुख शर्मा बताउनुहुन्छ ।
उपप्रमुख शर्माले भन्नभयो,“फोहर व्यवस्थापन गर्नतर्फ हामीहरू गम्भीरनै छौँ, साँघुरो ठाउँमा पर्याप्त जग्गा नपाउँदा समस्या भएको छ, केही ठाउँमा जग्गा पाइए पनि आवश्यक अनुसारको पुगेन, यद्दपि हामीहरूले विभिन्न ठाउँमा जग्गा हेर्ने र प्राप्त गर्नका लागि पहल गरिरहेका छौँ, अहिले व्यवस्थापन गर्दै आएको ठाउँमा उचित नहुँदा नहुँदै पनि बजारको फोहाेरलाई व्यवस्थापन गरिरहेका छौँ ।” रासस