मानव जातिको अभ्युदय सँगसँगै बाटो निर्माण कार्य सुरु भएको मानिन्छ । एक ठाउँबाट अर्को ठाउँमा जाने क्रममा हिँडडुल गर्न सहज हुने धरातललाई पछ्याउँदै हिँड्दा मानिसका पाइला जताजता टेकिँदै गए त्यहाँ एउटा गोरेटो तयार हुन्थ्यो । त्यो बेलाको मानवीय अनुभवका आधारमा बनाइएका त्यस्ता गोरेटा धेरै हदसम्म बाढीपहिरोबाट सुरक्षित हुन्थे । हिउँद–वर्षा वा जुनसुकै ऋतुमा पनि त्यहाँ हिँडडुल सहज हुन्थ्यो । नदी नाला बारम्बार तर्नु नपर्ने गरी, तर्न तय गरेको ठाउँमा सकभर एउटा फड्के भए पुग्ने गरी र नजिकको गाउँमा पुग्न सकेसम्म छोटो हुने गरी यस्ता गोरेटा तयार पारिन्थे । वर्षाका समयमा कहीँ कतै भल, बाढी वा पहिरोले केही क्षति पु¥याएछ भने पनि त्यो ठाउँलाई वर्षा सकिना साथ स्थानीय निर्माण सामग्री प्रयोग गरेर स्थानीयवासीले नै मर्मत सम्भार गर्थे । त्यो बेलाको गोरेटो पर्यावरणमैत्री हुन्थ्यो ।
मानव सभ्यता अगाडि बढ्दै आउने क्रममा कतिपय यस्ता गोरेटालाई घोरेटो (घोडा हिँड्न मिल्ने बाटो) मा परिणत गरियो । विकासको क्रम सँगसगै घोरेटोलाई पनि फराकिलो पारेर गाडी गुडाउन मिल्ने गरी सडक वा राजमार्ग बनाउन थालियो । सडकको निर्माणपश्चात् यात्रा मात्र सहज भएन व्यापार व्यवसाय पनि फस्टाउन थाल्यो । सडकको उपस्थितिकै कारणले कैयौँ नयाँ ठाउँमा सहर वा बस्ती विकास भयो भने बाटोले छोएका कैयौँ पुराना गाउँ पनि सहरमा परिणत भए । हुँदा हुँदा अहिले त प्रत्येक गाउँलाई मोटर बाटोले जोड्ने एक किसिमको होडबाजी नै चलेको छ । चुनावताका उम्मेदवारहरू बाटो बनाइदिने प्रतिज्ञा गर्न भुल्दैनन् भने स्थानीय निकायको बजेटको मुख्य हिस्सा बाटो निर्माणमा नै खर्चिएको देखिन्छ । सङ्घीय सरकार र प्रदेश सरकार पनि कतिपय ठाउँमा नयाँ बाटो बनाउने र भइरहेको बाटोलाई झन् फराकिलो र सुविधायुक्त बनाउने प्रक्रियामा लागेका देखिन्छन् । अवस्था यस्तो भइसकेको छ कि कुनै पहाडी डाँडामा उभिएर हेर्ने हो भने बाटोका सञ्जाल वरतिर परतिर प्रसस्तै देखिन्छन् । कतिपय ठाउँमा पहाडलाई चिथोरे जस्तो बाटो खन्दा क्षतविक्षत पारेका पाखा पनि मनग्गे देखिन थालेका छन् । पहाडी पाखामा आँखा बिझाउने गरी सिर्जिएका यी दृश्यलाई सडक बनाएको भनिन्छ तर यहाँ पहाड नै घाइते हुने गरी पाखो भत्काएका घटना छ्यापछ्याप्ती छन् । पहाड घाइते भएपछि त्यहाँको पर्यावरण बिथोलिन्छ र त्यसको असर अल्पकालीन मात्र नभएर दीर्घकालीन पनि हुने भएकाले यो गम्भीर चिन्ताको विषय हो ।
आधुनिक युगमा सडक निर्माण संसारको जुनसुकै भागमा पनि प्राथमिकताको विषय हो । सडकलाई कसरी दिगो, भरपर्दो, र वातावरणमैत्री बनाउने भन्ने सवालको जवाफ खोज्न अनुसन्धान भएका छन् र ती अनुसन्धानका नतिजा वैज्ञानिक जर्नलमा प्रकाशित पनि भएका छन् । संसारका विभिन्न विश्वविद्यालयमा राजमार्ग बनाउन आवश्यक पर्ने प्राविधिक मानव संसाधन तयार पार्न ‘हाइवे इन्जिनियरिङ’ को पाठ्यक्रम नै पढाइन्छ र त्यहाँ अध्ययनरत विद्यार्थी अहिले पनि सडक निर्माणका विविध पक्षमा अध्ययन अनुसन्धान गरी नै रहेका छन् । नेपालकै विश्वविद्यालयमा पनि यो विषयको पढाइ हुन्छ र सडक बनाउन चाहिने उच्च प्राविधिक जनशक्ति तयार भइरहेका छन् । सडक निर्माणको काम गर्न भनेर सरकारले सम्बन्धित मन्त्रालय अन्तर्गत मानव संसाधन र बजेट विनियोजन गरी विभाग नै खडा गरेको छ । त्यस्तै, सडकको गुणस्तरलाई सुदृढ पार्न, सडकका कारण पर्यावरणलाई बिग्रन नदिन, र अनियमित कामकाबारहीलाई नियन्त्रण गर्न नेपाल सरकारले ऐन कानुन नै बनाएर कार्यान्वयनमा पनि ल्याएको छ । त्यति हुँदाहुँदै पनि किन सडक पहिरोविहीन हुन सकेका छैनन् त भन्ने अहम् प्रश्न खडा भएको छ ।
सडक बनाउने भनेको पृथ्वीको सतहमा हो, जुन विविधतापूर्ण हुन्छ । समथर मैदान, भिरालो पाखा र विकट भिर जस्ता विशेषताले परिपूर्ण छ जमिनको सतह । यसरी धरातलीय भूदृश्य एकनास नहुनुका पछाडि भौगर्भिक कारण छन् । पृथ्वीमा विभिन्न प्रकारका भौगर्भिक बल कार्यरत छन् । ती भौगर्भिक बलहरूलाई सन्तुलनमा राख्ने क्रममा जमिन समथर मात्र भएको छैन । यो त कतै होचो त कतै अग्लो, कतै भिरालो त कतै पहरो भएर बसेको छ । प्राकृतिक सन्तुलन कायम गर्न यी विशेषता पनि समय सँगसँगै परिवर्तन हुँदै जान्छन् । परिवर्तनको रफ्तार ढिलो हुन्छ जसलाई मानव जीवनले महसुस गर्न भ्याउँदैन । यहाँ बुझ्नुपर्ने कुरा के छ भने सडक बनाउन जुन ठाउँमा खन्न थालिन्छ (वा पहाड काट्न डोजर चलाइन्छ वा विस्फोटक पदार्थ पड्काइन्छ), त्यो ठाउँमा कार्यरत भौगर्भिक शक्ति बिथोलिन्छन् र शक्ति सन्तुलन गुम्छ । फलस्वरूप, त्यहाँ पहिरोको सुरुवात हुन्छ । हो, यहीविन्दुबाट बाटो, माटो र पर्यावरणको विनाश पनि सुरु हुन्छ ।
भिरालो भूभागमा रहेको माटो वा चट्टान गुरुत्वाकर्षणका कारणले तलतिर चिप्लन्छ वा खस्छ भने त्यस्तो प्रक्रियालाई पहिरो भनिन्छ । पहिरो जहाँ पायो त्यहाँ जाँदैन । निश्चित प्रकारका भौगर्भिक विशेषता भएका ठाउँमा मात्र पहिरो जान्छ । अर्थात्, पहिरोको सम्बन्ध पृथ्वीको सतहमा रहेका माटो र चट्टानका भौगर्भिक गुणसँग छ । त्यसैले, पृथ्वीमा मानिसको अभ्युदय हुनुभन्दा अघिदेखि नै पहिरो जाने प्रक्रिया चालु थियो । त्यो बेला, पहिरोको सुरुवात हुनुमा प्राकृतिक कारण (जस्तैः धेरै पानी पर्नु, शक्तिशाली भूकम्प जानु, ज्वालामुखी विस्फोट हुन, नदीले किनारा कटान गर्नु, इत्यादि) नै हावी हुन्थे । प्राकृतिक कारणले सुरु भएका प्रायः पहिरा निश्चित समयपछि आफैँ स्थिर हुन्छन् । हामीले हिँडडुल नै गर्न नसक्ने भिर–पाखामा पहिरो गएपछि त्यहाँको भिरालोपन पनि घट्छ र माटो पनि बन्छ । त्यही माटोमा बोटबिरुवा उम्रिएर हुर्किएपछि विरुवाको जराले माटोलाई समात्छ र पहिरो स्थिर हुन्छ । खासमा प्रागऐतिहासिक कालमा गएका पहिराले माटो मात्र बनाएनन् मानिसलाई गाउँ बस्ती बसाउन मिल्ने र खेती गर्न सहज हुने खालका भिराला पाखा पनि बनाए । हाम्रो देशका कैयौँ गाउँ बस्ती पुरानो पहिरोमा बसेका छन् । अर्थात्, पहिरो एउटा यस्तो प्रक्रिया हो, जसले जमिनको सतहको भिरालोपनलाई घटाइदिन्छ र मानवमैत्री पाखाको साथसाथै खेती गर्न चाहिने माटो पनि बनाइदिन्छ । हुन त माटो बनाउने अरू प्राकृतिक प्रक्रिया पनि छन् तर केही मिनेटभित्रै निकै ठुलो परिमाणमा माटो बनाउन सक्ने क्षमता भएको पहिरो मात्र हो ।
मानव क्रियाकलाप (सडक बनाउनु, कुलो खन्नु, पोखरी बनाउनु, विस्फोटक पदार्थ पड्काउनु, जङ्गल फडानी गर्नु, इत्यादि) का कारणले पनि पहिरो जान्छ । यस्तो पहिरोलाई मानव सिर्जित पहिरो भनिन्छ । मानव क्रियाकलापका कारण सुरु भएका पहिरा सितिमिति आफैँ स्थिर हुँदैनन् । तिनीहरूलाई यथासम्भव चाडो नियन्त्रण गर्नु पर्छ । नत्र पहिरो झन्झन् ठुलो हँुदै जान्छ र अकल्पनीय क्षति बेहोर्नुपर्ने हुन्छ । अहिले हाम्रा पहाडी सडकमा जे देखिएको छ त्यो मानव सिर्जित पहिरो (सडक खन्दा निम्त्याएको पहिरो) लाई नियन्त्रण नगर्नाको परिणाम हो ।
माथि भनिए झैँ निश्चित भौगर्भिक विशेषता भएका ठाउँमा मात्र पहिरो जान्छ । कतिपय त्यस्ता ठाउँमा बाटो खन्न थाल्नेबित्तिकै पहिरो सुरु भइहाल्छ भने कतिपय ठाउँमा बाटो बनाइसकेपछि मात्र पहिरोका सङ्केत देखिन थाल्छन् । त्यस्तै, काहीँ सानो पहिरो जान्छ भने कतैकतै माथि पहाडको सिरानदेखि नै भीमकाय पहिरो गल्र्यामगुर्लुम खस्छ । कुन ठाउँमा कत्रो पहिरो जान्छ भन्ने कुरा त्यो ठाउँको भौगर्भिक अवस्था, बाटाको चौडाइ, काटिएका रुखको सङ्ख्या, बाटो खन्दा प्रयोग गरिएको प्रविधि, बाटो खन्दा निक्लिएको माटोलाई व्यवस्थित तरिकाले थन्क्याएको वा जथाभाबी फालिएको, बाटोको किनारमा भल पानी बग्ने ढलको व्यवस्था गरेको वा नगरेको जस्ता कुरामा भर पर्छ ।
बाटोका कारण गएका पहिरोले बाटोलाई त बिगार्छ नै । त्योदेखि बाहेक, यसले आफ्नो पथमा परेका रुख–बिरुवा, ढुङ्गा, माटो, खेत बारी, मठमन्दिर, स्कुल, अस्पताल, गाउँ बस्ती केहीलाई पनि छोड्दैन । गहिरो खालको पहिरो गएको ठाउँमा त भूमिगत जल बग्ने बाटो पनि भत्काइदिन्छ यसले । फलस्वरूप पानी जति सबै पहिरोमा नै अचानक मूल फुटेर निक्लन्छ र छेउछाउका पहिलेदेखि नै चलनचल्तीमा रहेका खानेपानीका मुहान सुक्न थाल्छन् । खानेपानीको अभावमा बसाइँसराइको अवस्था आइ पर्छ । पहिरोले बगाएका रुख बिरुवामा गुड लगाएर जीवनचर्या धानिराखेका निरपराध चराचुरुङ्गीको उठिवास हुन्छ । त्यस्तै, जमिनमा दुलो पारेर घरजम गर्ने प्राणीको इहलिला पनि पहिरोले क्षणभरमा नै समाप्त पारिदिन्छ । पिता–पुर्खाको रगत पसिनाले ढुङ्गा–माटो मिलाएर बिराएका खेतबारीको अमूल्य माटोलाई पहिरोले बगाएर नजिकको खोलामा पु¥याउँछ । त्यो खोलाले अर्को खोलामा र अर्काले नजिकको नदीमा पु¥याउँदै गर्दा अन्त्यमा नेपाली माटो बिदेसिन्छ । जति माटो बगेर जान्छ त्यति माटो (हामी मानिसले त माटो बनाउन नै सक्तैनौँ) प्रकृतिले बनाउन अर्को हजारौँ वर्ष पर्खनु पर्छ ।
पहिरोको विध्वंसमा परेका गाउँबस्तीमा कति को ज्यान जान्छ कति घाइते वा अपाङ्ग हुन्छन्, कति टुहुरा हुन्छन् हृदयविदारक स्थिति उत्पन्न हुन्छ त्यहाँ । कहिलेकाहीँ त पहिरो बग्दै गएर नजिकको नदीलाई पूर्ण रूपमा छेकी दिन्छ र त्यहाँ केही समयभित्रमा नै एउटा ठुलो तलाउ बन्छ । पानी जम्मा हुँदै गएपछि त्यो तलाउ पनि फुट्छ र नदीको तल्लो तटीय क्षेत्रमा अचानक भीषण बाढी आउँछ । त्यो बाढीको ताण्डव नृत्यका कारण नदी किनारका बस्ती जलमग्न हुनुका साथै धेरै जनधनको क्षति हुन्छ । यसरी कुनै एउटा सानो ठाउँबाट सुरु भएको बाटो सृजित पहिरोले त्यो क्षेत्रको पर्यावरणलाई नै तहस नहस पार्न सक्छ । पहिरोले विध्वंस मच्चाएका यस्ता उदाहरण प्रसस्तै छन् तर पनि हामीहरू चेतिरहेका छैनौँ ।
कुनै सडक खण्डमा पहिरो गएको र यातायात बन्द भएको खबर सञ्चार माध्यममा आउँछ । त्यो सडक सिर्जित पहिरो जान तारताम्य मिलाउने पात्रको लापरबाहीपूर्ण कथा कहिल्यै पनि सार्वजनिक भएको सुनिँदैन । सडक बनाउने कुरालाई अचेल लहडमा लिएको जस्तो देखिन्छ । खासमा कुनै दुई ठाउँ (वा गाउँ) लाई जोड्न सडक बनाउनु प¥यो भने सम्बन्धित विभिन्न विधाका (जस्तैः सर्वेयर, हाइवे इन्जिनियर, भूगर्भशास्त्री, जल तथा मौसम विज्ञ, अर्थशास्त्री, सामजशास्त्री, इत्यादि) प्राविधिकको टोली खटाएर अध्ययन गराउनु पर्छ । त्यो टोलिले गरेको सिफारिस अनुसारको भूगोलमा सीमित भएर सडक खन्नु पर्छ, त्यो पनि प्राविधिककै निगरानीमा । उनीहरूले खुट्याएका पहिरो जाने सम्भावित ठाउँमा उनीहरूको सिफारिस अनुरूपको पहिरो नियन्त्रण कार्य पनि बेलैमा गर्नु पर्छ तर यहाँ त्यस्तो भइरहेको छैन । बाटोलाई जग्गा व्यापारको माध्यम बनाएर प्राविधिकको सल्लाह नै नलिइकन डोजर चलाएर जतासुकै ग्रामीण बाटो खन्न थालिएको छ ।
ठुला ठुला राजमार्गका हकमा पनि पहिरो जाने सम्भावनालाई ज्युँकात्युँ छोडेर निर्माण सम्पन्न भयो भनेर यातायात सञ्चालन गरिन्छ । त्यही राजमार्गमा गुडिरहेको बसलाई पहिरोले बगाएको खबर आउँछ । दोषी को हो भनेर खोजी नै हँुदैन । त्यस्तै सडक खन्दा निक्लिएको माटोलाई नियमविपरीत एक ठाउँमा थुपारेर राखिन्छ । वर्षाको बेला त्यही माटो बगेर सडकको तल्लो घुम्तीमा रोकेर राखेका गाडीलाई पुर्दा मानिसको मृत्यु भएका घटना पनि सार्वजनिक भएका छन् । समाचारपत्रमा यो खबरले मुख्य शीर्षकका रूपमा ठाउँ पाउँछ तर फेरि पनि दोषी को भन्ने प्रश्न अनुत्तरित रहन्छ । बाटो, माटो र पर्यावरणको खल्बलिएको त्रिकोणात्मक सम्बन्धका केही प्रतिनिधिमूलक उदाहरण हुन् यी घटना ।
माथि उल्लेख गरिए झैँ सडक वा राजमार्ग बनाउनु भनेको नितान्त प्राविधिक कुरा हो । अनुभव प्राप्त सम्बन्धित विधाका विज्ञले मात्र दिगो, भरपर्दो र वातावरण–मैत्री सडक बनाउन सक्छ । जसरी मानिसको शल्यक्रिया गर्न अस्पतालमा डाक्टरको समूहले (एक जनाले होइन) नै सहकार्य गर्छन्, ठ्याक्कै त्यसै गरी सडक बनाउँदा पनि सम्बन्धित विधाका ज्ञाताको सामूहिक निगरानीमा मात्र सडक खन्ने काम गर्नु पर्छ । त्यसो नगरीकन सडक बनाउन आदेश दिने सरकारी अधिकारी वा जननिर्वाचित प्रतिनिधिलाई कानुनको कठघरामा उभ्याउनु पर्छ । जसरी उपचारको क्रममा बिरामीलाई हानिनोक्सानी भयो बने संलग्न चिकित्सकलाई कानुनी प्रक्रियाद्वारा जवाफदेही बनाइन्छ त्यसै गरी पहिरो सिर्जित सडक बनाउने कर्मचारीलाई पनि डण्ड जरिबाना गराउने कानुनी परिपाटी बनाउनु पर्छ । किनभने विज्ञको समूहमा मिलेर गर्ने काम एक्लैले गर्छु भन्नु, विज्ञको समूहलाई दिनुपर्ने जम्मेवारी एक जनालाई मात्र सुम्पनु, सडक बनाउँदा पहिरो जाने स्थिति उत्पन्न गर्नु वा पहिरो नियन्त्रणका उपाय अवलम्बन नगरी यातायात सञ्चालन गर्नु जस्ता कार्य भनेको जघन्य अपराध हो । यस्ता कार्यले सडकमा यातायातको सुविधा प्राप्त हुँदैन बरु विपत्को ओइरो लागेर आउँछ, जसले जनधनको क्षति मात्र होइन गम्भीर पर्यावरणीय समस्या पनि उन्पन्न गर्छ । त्यसैले, नीति निर्माताले मात्र पनि होइन हामी सर्वसाधारणले पनि माटो, बाटो र पर्यावरण बचाउन कटिबद्ध हुनु जरुरी छ ।
सडकमा गाडी गुडाएबापत यातायात व्यवसायीले सरकारलाई कर तिर्नु पर्छ । हामी यात्रीले पनि भाडामार्फत कर तिरेका हुन्छौँ । यात्रीसँग कर लिएर यात्रुवाहक गाडीलाई गुड्न दिनु भनेको सरकारले सडक सुरक्षित छ निस्फिक्रिसँग यात्रा गर्नु भनेको हो कि होइन ? हो भने हामीसँग कर लिने अनि करदातालाई नै पहिरोको मुखमा पु¥याएर ज्यान लिने काम सरकारले गर्न पाउँछ ? यदाकदा सरकारले मृतकका परिवारलाई र घाइतेलाई केही सहयोग गरेको सुनिन्छ । पहिरोको कारण यति जनधनको क्षति भयो भनेको पनि सुनिन्छ । सडक सिर्जित –मानव सिर्जित) पहिरोको कारण देशले कति माटो गुमाउँदै छ र यसले के कस्ता पर्यावरणीय समस्या निम्त्याउँदै छ भनेर काहीँ कतै छलफल नै हुँदैन । त्यस्तै, सडक सृजित पहिरोमार्फत बिदेसिएको माटो र बिग्रिएको पर्यावरणका कारण देशलाई के कति आर्थिक भार पर्दै छ र यसलाई कसरी नियन्त्रण गर्ने भन्ने सवाल पनि अनुत्तरित छ । सडक बनाउँदा एउटा रुख काट्नु प¥यो भने २५ वटा विरुवा रोप्नुपर्ने कानुनी प्रावधान छ । ती रुखलाई जीवन दिने माटो बगाउनेलाई (पहिरो जाने क्रियाकलाप गर्ने व्यक्ति वा त्यस्तो काम गर्ने गराउने सरकारी कर्मचारी लाई) कुनै कानुनी कारबाही नै नगर्ने त ? जबसम्म यी प्रश्नको जवाफ खोजिँदैन तबसम्म बाटो, माटो र पर्यावरण सुरक्षित रहँदैन ।