सर्लाही समाचारदाता
सर्लाही, जेठ २२ गते । सर्लाहीको लालबन्दी बजारमा किसानले बिक्री गर्न ल्याएको मिटर बोडीमा अत्यधिक विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको छ । बागमती नगरपालिका–१०, सोल्टीका किसान हरिन्द्र महतोले उत्पादन गरेर बजारमा बिक्री गर्न ल्याएको ७० केजी मिटर बोडी परीक्षण गर्दा अत्यधिक विषादी पाइएपछि नष्ट गरिएको हो । नियमित रूपमा तरकारीको नमुना परीक्षण गर्दा सोल्टीका किसान महतोले फलाएर मङ्गलबार बिहान बजारमा ल्याएको बोडीमा ‘अर्गानोफस्फेट’ नामक विषादीको मात्रा ७४.९०५ प्रतिशत पाइएको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ लालबन्दीका नायब प्राविधिक दिलबहादुर राउतले जानकारी दिनुुभयो ।
राउतका अनुसार उपभोग्य अयोग्य रहेको ७० केजी बोडी लालबन्दी थोक तरकारी बजार छेउको डुमडुमेखोलामा गाडेर नष्ट गरिएको छ । परीक्षण गर्दा विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी भएको तरकारी उपभोग अयोग्य हुने र त्यसलाई नष्ट नै गर्नुपर्ने प्रावधान रहेको प्राविधिक राउतले बताउनुभयो ।
लालबन्दी बजारमा दिनहुँ तरकारीमा विषादीको परीक्षण हुने गरेको छ । नायब प्राविधिक राउतले भन्नुभयो, “तरकारीमा विषादीको ३५ प्रतिशतभन्दा कम मात्रा हुँदा मात्रै खान योग्य र ३५ देखि ४५ प्रतिशतसम्म हुँदा केही दिन क्वारेन्टाइनमा राखेर ३५ प्रतिशतभन्दा कम भएपछि उपभोग योग्य हुन्छ । ४५ प्रतिशतभन्दा बढी विषादी भेटिए उपभोग अयोग्य हुन्छ, त्यस्तो तरकारी त नष्ट नै गर्नु पर्छ ।”
यसअघि जेठ १ गते ईश्वरपुर नगरपालिकाको सागरनाथ क्षेत्रका एक किसानले लालबन्दी बजारमा ल्याएर व्यापारीलाई बिक्री गरिसकेको ६७ केजी बोडीमा ‘अर्गानोफस्फेट’ नामक नै विषादीको ६०.३०४ प्रतिशत मात्रा पाइएको थियो । उक्त ६७ केजी बोडी पनि यसै गरी डुमडुमेखोलामा नष्ट गरिएको थियो । किसानले लालबन्दी बजारमा ल्याएर बिक्री गरेको र व्यापारीले यहाँ किसानबाट किनेर काठमाडौँ पुर्याएको बोडीमा बारम्बार अत्यधिक विषादीको मात्रा देखा परिरहेको छ । आफ्नो मेहनत र लगानी खर्चिएर उत्पादन गरेर बेच्न ल्याएको तरकारीमा विषादी अत्यधिक भेटिएपछि सोझै नष्ट गरिदिँदा मार परेको किसानले गुनासो गर्दै आएका छन् ।
व्यापारीले समेत किसानले बजार ल्याउने बेला नै विषादीको परीक्षण गर्नुपर्ने आवाज उठाइरहेका छन् । जेठ १ गते व्यापारीले किनिसकेको तरकारी परीक्षण गर्दा विषादीको अत्यधिक मात्रा भेटिएपछि नष्ट गरिँदा व्यापारीले केही दिन किसानबाट तरकारी खरिद गर्न इन्कार गरेका थिए ।
लालबन्दी थोक तरकारी बजारको अध्यक्षसमेत रहेका किसान प्रमोदकुमार थपलियाले किसानले पसिना र पैसा खर्चिएर उत्पादन गरेर ल्याएको बोडी यसरी नष्ट गर्नुपर्ने अवस्था अन्त्यका लागि पहल भइरहेको बताउनुुभएको छ । यहाँका कीटनासक औषधी बिक्री गर्ने एग्रोभेटले प्रतिबन्धित औषधी आफूखुसी बिक्री गर्ने र किसानले पनि राम्रो उत्पादन निकाल्न जथाभाबी औषधी छिट्ने प्रवृत्ति रहेकाले यसलाई नियन्त्रण गर्न स्थानीय तहलाई सचेतना जगाउन अनुरोध गरिरहेको थपलियाले बताउनुुभयो ।
स्थानीय तहले एग्रोभेटको निगरानी नगरिदिँदा समस्या बढेको थपलियाको गुनासो छ । उपभोक्ताले राम्रो देखिने र सर्लक्क परेको तरकारी मात्रै खरिद गर्ने गरेकाले त्यस्तो तरकारी उत्पादन गर्न विषादी बढी हाल्ने गरेको किसानले बताउँदै आएका छन् ।
लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले हप्तामा एक पटक छिट्नुपर्ने औषधी दिनैपिच्छे छिट्ने गरेको पाइएको बताउनुभएको छ । बोडीमा अत्यधिक विषादी फेला परेपछि नगरभित्र व्यावसायिक तरकारी खेती हुने वडामा माइकिङ गरेर सचेतना जगाउने काम गरिएको पौडेलले बताउनुभयो । लालबन्दी नगरपालिकाभित्र तरकारीमा विषादीको मात्रा घटाउन सचेतनामूलक कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । कृषि अधिकृत पौडेलले भन्नुभयो, “हामीले सबै वडामा माइकिङ गर्ने र पर्चा वितरण गर्ने काम गरिसक्यौँ । यहाँका २२ वटा एग्रोभेट पसलका सञ्चालकसँग अन्तव्रिर्mया गरेर जथाभाबी औषधी बिव्रmीवितरण नगर्न सचेत गराएका छौँ ।”