काठमाडौँ, वैशाख १४ गते । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार समयको आवश्यकताले बनेको बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसजस्तो देशको दुई पुरानो एवम् प्रतिस्पर्धी पार्टीहरूको सरकार बन्नु समयको आवश्यकता हो, भन्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “म साथीहरूलाई भन्न चाहन्छु, अहिलेको सरकार समयको आवश्यकताले बनेको हो । नत्रभने, नेपाली कांग्रेस जस्तो एउटा पुरानो पार्टी, नेकपा (एमाले) जस्तो पुरानो दुई प्रमुख दलहरू, दुई प्रतिस्पर्धी दलहरू यसरी बस्ने थिएनन् । एउटै सरकारमा बस्ने थिएनन् । तर, देशको परिस्थिति हेरेर अस्थीरताले देश खान थाल्यो । स्थायीत्व भएन, देश बर्बाद हुन थाल्यो । अर्थतन्त्र ओरालो लागेको थियो, अनि यो सरकार बन्यो ।”
उहाँले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न चाहने तत्वहरूले नेतृत्वमाथि विभिन्न आरोप लगाउने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नामका वामपन्थी, कामका दक्षिणपन्थी, अहिले पनि कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने उद्देश्य सफल पार्नका लागि हाम्राविरुद्ध विभिन्न प्रकारका लान्छाना, आरोपहरू लगाउने । अर्को, ढल्यो, ढल्यो, ढल्यो सरकार ढल्यो । अहिले ढल्यो, भोलि बिहानै ढल्यो, शेरबहादुरजी फर्किने बित्तिकै ढल्यो । शेरबहादुरजीले चिसो पानी टाउकोबाट खन्याइदिएपछि फेरि छक्क परेका छन् । शेरबहादुरजी आउने बित्तिकै नढले त के गर्ने ? दुई, चार दिनमा ढलिहाल्छ । अर्को, गीत सुरु गरेका छन् ।”
उहाँले नेकपा (एमाले) लाई मिसन ८४ मा निर्णायक राष्ट्रिय शक्तिको रूपमा यसलाई विकास गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टी झण्डै दुईतिहाईको अवस्थामा पुगेको तर, पटक–पटक आक्रमण हुँदा समेत एमालेले जननेता मदन भण्डारीको विचार जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गनिर्देशक सिद्धान्त बनाएका कारण आज यस अवस्थामा रहेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले जननेता मदन भण्डारीको अगुवाइमा जनताको बहुदलीय जनवाद आफ्नो समयानुकूलको विचार, आफ्नो परिस्थिति अनुकूलको विचार, आफ्नो देश, काल परिस्थिति अनुसारको विचारमा दृढताका साथ उभिन सक्नुपर्छ । सही कुरा सही नै हो । त्यसकारण, कतिबेला कस्तो विचार लिनुपर्छ भन्दा सही कुरा गलत हुन्छ भन्ने मान्यता होइन, समाजवादको ध्येय मर्दैन, न्याय मर्दैन, त्यसलाई एकैछिन पराजित गर्ला कसैले तर, अन्तिम विजय सत्यको हुन्छ ।”
उहाँले मदन भण्डारी फाउन्डेसन एमालेको जनवर्गीय सङ्गठन नभएको र यो जननेता मदन भण्डारीको विचारबाट मात्रै निर्देशित हुने बताउनुभयो । एमालेको आन्दोलनमा फाउन्डेसनबाट सघाउ पुग्ने उहाँको विश्वास छ । प्रधानमन्त्री ओलीले आफूलाई मदन भण्डारी फाउन्डेसनको संरक्षकमा नराख्न आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “मदन भण्डारी फाउन्डेसनले नेकपा (एमाले) को भरपर्दो सहयात्रीको रुपमा सघाउनेछ । यो पार्टीको जनवर्गीय सङ्गठन होइन, मलाई पनि संरक्षकमा नराखिदिए हुन्छ, मेरो आग्रह छ, अलग्गै राख्नुस् । पार्टीले निर्देशन दिने, सञ्चालन गरिदिने पनि होइन यो । मदन भण्डारीको विचारले मात्रै निर्देशित गर्छ यसलाई । अरुले निर्देशित गर्ने कुराबाट अलिकति पृथक नै राख्नुस् । पार्टीमा कहिले को लिडरसिप आउला ।” यद्यपि, जबजको सर्जक पनि एमाले रहेको उहाँको भनाइ छ ।
मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले फाउन्डेसनले जनताका बहुदलीय जनवाद (जबज) को प्रवर्धन र विकास गर्ने उद्देश्यका साथ अघि बढेको बताउनुभयो । उहाले राजनीतिक दर्शनले सामाजिक, आर्थिक, सांस्कृतिक सबै दर्शनलाई निर्देश गर्ने भन्नुहुँदै कार्यकर्ता र नेताबिच सतहसम्म निरन्तर छलफल गरेर जबज विचार निर्माण भएको पाइएको बताउनुभयो ।
उहाँले शिक्षालाई प्राविधिक वा नाफाको दृष्टिकोणमा मात्रै सीमित राख्न नहुने भन्नुहुँदै यसले संवेदनशील मानिसलाई मेसिन बनाउन सक्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।