• १२ पुस २०८१, शुक्रबार

एकीकृत स्वास्थ्य शिविरमा दुई हजार बढी बिरामीको उपचार

blog

जिल्ला अस्पतालमा सञ्चालन भएको शिविरमा उपचारका लागि आाएका बिरामी । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, जेठ २८ गते । 
जिल्लामा आयोजना गरिएको बृहत् एकीकृत स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी बिरामीको उपचार भएको छ । जिल्ला अस्पतालमा सञ्चालन भएको विशेषज्ञ सेवासहितको शिविर सञ्चालन भएको हुँदा एक दिन पैदल हिँडेर बिरामीहरू उपचारका लागि आएका हुन् ।

स्वास्थ्य सेवा कार्यालयमा प्रमुख प्रेमबहादुर सिंहले तीन दिनसम्म सञ्चालन भएको स्वास्थ्य शिविरमा दुई हजार १४९ जना बिरामीहरूको उपचार भएको बताउनुभयो । उहाँले कोरोनापछि पहिलो पटक विशेषज्ञ सेवासहितको शिविर सञ्चालन भएको कारण बिरामीहरू धेरै उपचारका लागि आउनु भएको बताउनुभयो ।

उपचारका आउने बिरामीहरू नौ देखि ७० वर्ष माथिका छन् । शिविरमा उपचार गराउने महिलाहरूको सङ्ख्या एक हजार ३५० रहेको छ भने पुरुषको सङ्ख्या ८३९ जना रहेको छ ।

अकुपन्चर विधिबाट ६३१ जनाले हाडजोर्नीको उपचार गराएका छन् । १०७ जनाले भिडियो एक्स-रे गराएका छन् भने २५० जनाले मुटु रोगको उपचार गराएका छन् ।

यसैगरी, २२६ जना महिलाले गाइनेका उपचार गराएका छन् । त्यस्तै, १८४ जनाले ल्याब सेवा लिएका छन् । पाँच जनाको शल्यक्रिया गरिएको छ भने शिविरमा उपचार गराएका एक जना बिरामीलाई नेपालगञ्ज रिफर गरिएको छ ।

उपचार गर्ने सबै बिरामीहरूले आवश्यकताका आधारमा निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरको समापन कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले स्वास्थ्य शिविर निक्कै उपलब्धिमूलक रहेको बताउनुहुँदै आगामी दिनमा पनि यस्तै शिविर सञ्चालन हुनुपर्ने बताउनुभयो ।