• १३ वैशाख २०८३, आइतबार

चौथो प्रदेश स्तरीय भेट्रानको उपाधि चारपानेलाई

blog

चौथो प्रदेश स्तरीय भेट्रान कपको उपाधि जितेपछि खुसी साटासाट गर्दै चारपाने भेट्रानका खेलाडी । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का

बिर्तामोड, वैशाख १३ गते । झापाको कनकाई नगरपालिका सुरुङ्गामा आयोजित 'चौथो प्रदेश स्तरीय भेट्रान कप फुटबल' प्रतियोगिताको उपाधि चारपाने भेट्रानले जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा दुधे भेट्रानलाई १–० को कठिन गोल अन्तरले पराजित गर्दै चारपानेले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै विजेता चारपानेले नगद एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको दुधे भेट्रानले ६७ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

चारपानेको जितमा कमल खबासले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । खेलभरि दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे पनि दुधे भेट्रानले गोल फर्काउन सकेन ।

प्रतियोगिताको विधागततर्फ चारपानेका अङ्कुर खड्की सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । यसैगरी फाइनल खेलको ‘म्यान अफ द म्याच’ गोलकर्ता कमल खबास हुनुभयो । चारपानेकै अमृत गुरुङ उत्कृष्ट गोलकिपर र सन्तोष बस्नेत उत्कृष्ट रक्षक चुनिनुभयो । दुधे भेट्रानका बुद्ध चेम्जोङ प्रतियोगिताको 'हाई स्कोरर' बन्नुभयो ।

विजेता, उपविजेता तथा विधागत विजेता खेलाडीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, वडा नं. ३ का अध्यक्ष युवराज चम्लागाईं लगायतले नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।