• १३ असोज २०८१, आइतबार

तीन वर्ष बित्यो, बनेन सडक

blog

हिले समाचारदाता 

हिले, जेठ २७ गते । कोशी राजमार्ग अन्तर्गत धनकुटाको हिले–कुवापानी सडक भत्किएको तीन वर्षभन्दा बढी भयो। सडक बनाउन ठेक्का लागेको नै दुई वर्ष भयो तर अझै सडक बन्न सकेको छैन।

सो सडकखण्ड अन्तर्गतको ५४५ मिटर ६४ लाख ९६ हजार रुपियाँमा २०७७ सालको चैत महिनामा ठेक्का लागेको थियो। समयमै सडक निर्माण नभएपछि २०७८ पुस महिनामा पुनः म्याद थप गरिएको सडक कार्यालय धनकुटाले जनाएको छ। थपिएको म्याद अनुसार पनि सडक गत पुस महिनामै सक्नुपर्ने थियो। अहिलेसम्म ३५ प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय धनकुटाका इन्जिनियर सुशान्त उप्रेतीले जानकारी दिनुभयो। सडक निर्माणका लागि विराटनगरको शशिधर निर्माण सेवाले ठेक्का लिएको थियो। ठेक्का अनुसार सडकको दायाँबायाँ नाला निर्माण तथा सडक कालोपत्रे गर्ने भनिएको थियो। अब भने म्याद थप नगरी क्षतिपूर्ति तिराएर भए पनि असारभित्र निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाइएको डिभिजन सडक कार्यालय धनकुटाका सूचना अधिकारी इन्जिनियर विकास कुमारले जानकारी दिनुभयो।

समयमै सडक निर्माण नहुँदा ठुला साना सवारीसाधनलाई आवतजावतमा समस्या हुने गरेको छ। धनकुटासहित तेह्रथुम, भोजपुर र सङ्खुवासभासम्म यही सडक हुँदै सवारीसाधन ओहोरदोहोर गर्ने गरेका छन्। पानी परेपछि भत्किएको सडकमा पानी जम्ने र हिलाम्मे हुनाले हिँड्नै मुस्किलपर्ने गरेको स्थानीयवासीको गुनासो छ। दुई बर्खा यसरी नै कटाएको र यो वर्ष पनि बन्ने छाँटकाँट नभएकाले यो वर्ष पनि समस्या जस्ताको तस्तै रहने स्थानीय राम तामाङले बताउनुभयो। हिलेदेखि कुवापानीसम्मको करिब एक किलोमिटर सडक निर्माण गर्नुपर्ने अवस्था पुगेकोमा गत वर्ष आधा सडक भने अर्कै ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरिसकेको छ।