• १३ साउन २०८१, आइतबार

पूर्वाधारमा स्रोत बढाउन आग्रह

blog

काठमाडौँ, जेठ २६ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले पूर्वाधार विकासमा स्रोत बढाउन विश्व बैङ्कसँग आग्रह गर्नुभएको छ । 

बैङ्कको दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग बिहीबार अर्थ मन्त्रालयमा भएको भेटमा उहाँले पूर्वाधार विकास र सामाजिक विकासका सूचकबिच घनिष्ठ सम्बन्ध रहेकाले यसका लागि आवश्यक स्रोत व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभएको हो । 

पूर्वाधार विकासमार्फत गरिबी तथा पिछडिएको वर्गको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने, गाउँबाट साना बजारमा पहुँच विस्तार हुने र क्षमता विकास गरी अवसर पनि विस्तार हुने भएकाले पूर्वाधारका लागि स्रोतको आवश्यकतामा उहाँले जोड दिनुभएको हो । 

बसाइँसराइसँगै साना सहरी पूर्वाधारमा चाप परेकाले पूर्वाधार विकासमा थप स्रोत आवश्यक रहेको अर्थमन्त्री डा. महतको भनाइ थियो । खास गरी जलविद्युत्, सूचना प्रविधि, पर्यटन क्षेत्रको विकासमा सडक पूर्वाधार पूर्वसर्त रहेको पनि उहाँले बताउनुभयो । 

छलफलका क्रममा उहाँले सामाजिक सुरक्षा, राष्ट्रिय गौरवका आयोजना र चालु खर्च विनियोजन गरेपछि अन्य आयोजनाका लागि आवश्यक रकम न्यून रहने अवस्था रहेको बताउनुभयो । पछिल्लो समय साँवा ब्याज भुक्तानीमा हुने खर्च बढ्दै जाँदा ऋणको दिगो व्यवस्थापनतर्फ पनि सचेत रहनुपर्ने अर्थमन्त्रीको भनाइ थियो । 

विश्व बैङ्कको वित्तीय सहायतामा निर्माण हुन लागेको माथिल्लो अरुण आयोजनाको कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको थियो । उक्त आयोजनाका लागि स्रोत जुटाउँदा अन्य आयोजनामा स्रोत कमी हुन नदिने गरी व्यवस्थापन गर्न र नेपालमा क्रियाशील नरहेका विकास साझेदारलाई आकर्षित गर्न उहाँले आग्रह गर्नुभयो । 

सरकारले पूर्वाधार क्षेत्रमा लगानी बढाउन चाहेकाले आगामी आर्थिक वर्षको बजेटमार्फत पुँजीगत खर्च बढाउने प्रतिबद्धता गरेको उहाँले जानकारी गराउनुभयो । 

छलफलमा उपाध्यक्ष मार्टिनले स्रोतको समुचित परिचालनमा समस्या रहेको र त्यसलाई सम्बोधन गर्न संयुक्त रूपमा काम गर्न आग्रह गर्नुभयो । 

खरिद तथा ठेक्का व्यवस्थापन विद्युतीय माध्यमबाट गर्ने र समयमै आयोजना कार्यान्वयनमा अन्तरनिकाय समन्वयमा उहाँले जोड दिनुभयो । त्यस्तै उहाँले पुँजीगत खर्च बढाउन पनि आग्रह गर्नुभएको थियो ।