काठमाडौँ, पुस ३ गते । लगानीको स्पष्ट खाका तयार नहुँदा सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको एक खर्ब २८ अर्ब रुपियाँभन्दा बढी रकमले अपेक्षित प्रतिफल दिन सकेको छैन । खास गरी पूर्वाधार निर्माणका दीर्घकालीन परियोजनामा लगानीको रकमका लागि बाह्य पुँजीको खोजी गरिने अवस्थामा आन्तरिक स्रोतको अभाव पूर्ति हुने यस्तो रकम त्यसै थन्किएको छ ।
अर्थविद् डा. चन्द्रमणि अधिकारीले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदानकर्ताबाट जम्मा भएको रकम दीर्घकालीन योजनामा लगानी गर्ने विषयमा अहिलेसम्म स्पष्ट आधार बन्न नसकेकाले नै लगानी हुन नसकेको बताउनुभयो ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषको रकमलाई दीर्घकालीन परियोजनामा लगानी गर्ने विषयमा विभिन्न सरोकारवाला निकायसँग पटक पटक छलफल भएको तर कुन र कस्ता परियोजना भन्ने विषयमा टुङ्गो लागिनसकेको जानकारी दिनुभयो ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको ९७ अर्ब ३२ करोड रुपियाँ लगानीको पर्खाइमा छ । योगदानकर्ता र राष्ट्रिय कल्याणकारी कोषको समेत गरेर एक खर्ब २८ अर्ब बराबरको रकम निजी ठुला परियोजनामा दीर्घकालीन लगानीको पर्खाइमा रहेको हो ।
निजी तथा अनौपचारिक क्षेत्रका समेत योगदानकर्ता जोडिएको सो कोषमा दिनदिनै रकम बढिरहेको छ । यस कोषमा निजी क्षेत्रले लगानीको विषयमा चासो राख्ने गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका संस्थाले पनि निजी क्षेत्रको समेत सहयोगमा औपचारिक क्षेत्रमा कार्यरत योगदानकर्ताबाट कोषमा जम्मा भएको रकम देशको उत्पादक उद्योग तथा पूर्वाधारमा लगानी गर्नुपर्ने माग गर्दै आएका छन् ।
सामाजिक सुरक्षा ऐन, २०७४ र त्यसलाई टकेर बनेको सामाजिक सुरक्षा लगानी कार्यविधि, २०७७ ले पनि दीर्घकालीन पेन्सन कोषलाई उत्पादक उद्योग, बैङ्क तथा वित्तीय संस्थामा लगानी, सेयर लगानी पूर्वाधारमा लगानी गर्न सक्ने उल्लेख छ ।
कोषका अनुसार कोषले हाल बैङ्क तथा वित्तीय संस्थाको मुद्दतीसहित छ क्षेत्रमा लगानी गरिरहेको छ । कोषले डिबेन्चर सरकारी टे«जरी बिल, विकास ऋणपत्र, म्युचल फन्ड र बचतकर्तालाई सापटीका रूपमा पनि लगानी गर्दै आइरहेको जनाएको छ ।
सामाजिक सुरक्षा कोषले जस्तै योगदान सङ्कलन गर्ने सञ्चय कोष तथा नागरिक लगानी कोषले चाहिँ विभिन्न जलविद्युत् आयोजना जस्ता पूर्वाधारका क्षेत्रमा लगानी गरिरहँदा त्यसको लाभ आउने सुनिश्चित नभएकाले पनि सामाजिक सुरक्षा कोष त्यस प्रकारका आयोजनामा लगानी गर्न उत्सुक नदेखिएको हुन सक्ने अर्थविद्को अनुमान रहेको छ ।
अर्थविद् डा. चन्द्रमणि अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको रकम विभिन्न परियोजनामा लगानी गर्ने गरी कोषले नीतिगत रूपमा व्यवस्था गरे पनि अहिलेसम्म त्यस प्रकारको विश्वासको वातावरण नबनेको उहाँको बुझाइ छ ।
उहाँले कोषका स्वास्थ्य तथा औषधी उपचार, दुर्घटना÷अशक्तता योजना आश्रित परिवार योजनाको रकम दीर्घकालीन परियोजनामा लगानी गर्न नसकिए पनि अवकाश कोषको रकम त दीर्घकालीन परियोजनामा लगानी गर्न सकिने बताउनुभयो । कार्यकारी निर्देशक अधिकारीले लगानीको विषयमा उत्पादनमूलक क्षेत्र, जलविद्युत्, सरकारका राष्ट्रिय गौरवका आयोजना द्रुतमार्ग जस्ता आयोजनामा पनि लगानी गर्न सकिने विषयमा छलफल भए पनि स्पष्ट आधार बनाउन नसकेको बताउनुभयो ।