• २१ वैशाख २०८१, शुक्रबार

गर्भवतीको अल्ट्रासाउन्ड सेवा

blog

हुम्ला समाचारदाता

हुम्ला, जेठ २५ गते । खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाले अल्ट्रासाउन्ड सेवा सुरु गरेको छ। सो शाखाले युएसजी मेसिन र तालिमप्राप्त जनशक्ति उपलब्ध गराएपछि सो सेवा सुरु गरिएको हो।

खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य चौकीले चार वटा स्वास्थ्य चौकीमार्फत गर्भवती महिलाको अल्ट्रासाउन्ड गरेको छ। सोही क्रममा ६० जना गर्भवतीको अल्ट्रासाउन्ड गरिएको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक वलिराज शाहीले पहिलो पटक आफ्नै जनशक्तिको प्रयोगबाट गर्भवतीको सफल अल्ट्रासाउन्ड सम्पन्न भएको जानकारी दिनुभयो। यसअघि जिल्ला अस्पतालबाट दक्ष जनशक्ति झिकाएर सो कार्य खार्पुनाथ पालिकाले नै गर्दै आएको थियो। 

यस वर्ष एक जना दक्ष स्वास्थ्यकर्मीबाट सो कार्य सुरु गरिएको बताइएको छ। यसका लागि स्वास्थ्यकर्मी शारदा फडेराले चार वटा स्वास्थ्य चौकी राया, लाली, खर्पेलगाउँ र छिप्रा पुगेर गर्भवतीको अल्ट्रासाउन्ड गर्दै आउनुभएको छ। लाली स्वास्थ्य चौकीमा १२ जना, राया स्वास्थ्य चौकीमा २४, छिप्रा स्वास्थ्य चौकीमा ११ र खर्पेलगाउँ स्वास्थ्य चौकीमा १३ गर्भवतीको अल्ट्रासाउन्ड गरिएको थियो। सो कार्य दुई हप्तासम्म सञ्चालन भएको थियो। 

स्वास्थ्य शाखाले अब प्रत्येक दुई महिनामा गर्भवती महिलाको अल्ट्रासाउन्ड स्वास्थ्य चौकीस्तरमा गर्ने भएको छ। स्वास्थ्यकर्मी जय जेठाराले यसबाट गर्भवती महिलाको गर्भावस्थाबारे पहिल्यै जानकारी हुने बताउनुभयो।