सिराहा जिल्लाकै सबैभन्दा पुरानो र ठुलो नगरपालिकाका रूपमा रहेको छ, लहान नगरपालिका । २०३३ सालमै नगर पञ्चायत बनेको लहान पहाडी चार जिल्लाका लागि प्रमुख बजार पनि हो । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नगर सभा र कार्यपालिका दुवैमा स्पष्ट बहुमतका साथ निर्वाचित हुनुभएका प्रमुख महेशप्रसाद चौधरीसँग गोरखापत्रका सन्तोष सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
कार्यकालको पहिलो वर्ष सकिएको छ । यो अवधिमा कति काम पूरा भए, कति सुरु भए ?
हामीले कार्यभार सम्हालेपछि गरिएको नगर सभाबाट ल्याइएका अधिकांश कार्यक्रम पूरा भएका छन् । जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता तथा नागरिकताको सिफारिस निःशुल्क गरिएको छ । लहान नगरपालिका–१५ स्थित मेनर्वाका ५० मुसहर परिवारलाई व्यवस्थित आवास व्यवस्था, एक हजार गरिब तथा दलितलाई निःशुल्क मोतीबिन्दुको उपचार, लहानको तीन वटा वडामा बर्थिङ सेन्टर स्थापना, बर्थिङ सेन्टरमा एमबिबिएस चिकित्सक ल्याउने तयारी, दलित समुदायलाई किरिया खर्चको व्यवस्था गरिएको छ । सामुदायिक विद्यालयका लागि एक कक्षा एक शिक्षकको व्यवस्था, उत्कृष्ट दलित विद्यार्थीलाई उच्च शिक्षामा पूर्ण छात्रवृत्ति, दलित समुदायका लागि ४० वटा ट्युसन कक्षा सञ्चालन जस्ता काम भइसकेका छन् ।
यो एक वर्षको अनुभवले नगरको विकासका कस्ता चुनौती पाउनुभयो ?
पहिलो वर्ष त सिकाइकै वर्ष हुने रहेछ तर पनि स्पष्ट बहुमतका साथ निर्वाचित भए चुनौती र समस्या धेरै आउँदा रहेछन् । लामो समय काम गरेका स्थानीय तहका कर्मचारीको सरुवाको व्यवस्था नहुँदा त्यहाँ अराजकता मौलाउने रहेछ, त्यसैले कर्मचारीलाई सरुवा गर्न सकिने प्रावधान हुनु अनिवार्य छ । नयाँ जनप्रतिनिधिका लागि विभिन्न तत्वबाट फसाउने षड्यन्त्र हुँदो रहेछ । निर्वाचित भएर काम सुरु गरेको एक आर्थिक वर्ष पुगेको छैन, ज्ञात, अज्ञात उजुरीकर्ताबाट भए/नभएका काममा समेत अख्तियारमा सयौँ निवेदन दिइएका छन् ।
अख्तियारमा निवेदन दिएको कुरा उठाउनुभयो । तपाईंमाथि नगरपालिकाको स्रोत साधन दुरुपयोग गरेको आरोप छ नि ?
नगर प्रमुखमा निर्वाचित भएर आउनुअघि कोरोना सङ्क्रमणको बेला आफ्नै निजी र साथीभाइको सहयोगमा राहत बाँड्दै हिँडेको व्यक्ति हुँ म । लहान नगरपालिकाको २४ वटै वडाको दलित बस्तीमा राहत बाँड्दै हिँड्दा कोरोना सङ्क्रमणका कारण पत्नीसमेत गुमाउनु प-यो । वडामा घुम्दै गर्दा लहानदेखि उत्तरतर्फ चुरेको खोँचमा बाटोको समस्या रहेको महसुस गरँे । गर्भवतीलाई सुत्केरी गराउने बेला बाटो र स्वास्थ्य चौकीको अभावले कतिपयले मृत्यु हुने गरेको थियो । म निर्वाचित भएलगत्तै मेरो ध्यान वडा नं. १५, १६, १७, १८, २४ मा रहेका दर्जनौँ चुरे बस्तीमा सडक पु-याउनेतर्फ केन्द्रित रह्यो । नगरपालिकाकै एक्साभेटर, डोजर, टिप्पर प्रयोग गरेर र नगरपालिकाको इन्धन प्रयोग गरेर चुरेमै ३५ किलोमिटर सडक ट्र्याक खोलियो । लहानलाई उदयपुरको नेपालटार बजारसम्म विस्तार गरिएको छ । पहिले बाटो नभएको चुरेको बस्तीबाट अहिले बढीमा आधा घण्टाभित्र एम्बुलेन्स चढेर लहानको मुख्य बजारमा आउन सक्ने अवस्था सिर्जना भएको छ । त्यहाँ बाटो बनाउने क्रममा हामी जनप्रतिनिधिका लागि छुट्याइएको इन्धनसमेत खर्च भयो । पछि हामीले पुसमा भएको नगर सभाबाट बजेट व्यवस्था गरेपछि मात्रै जनप्रतिनिधिले इन्धन प्रयोग गर्न पाएका छौँ । जनचाहनाबमोजिम विकास हुन थालेपछि हामीमाथि आरोप लगाउन थालिएको हो ।
प्रदेश र सङ्घीय सरकारसँग के कस्तो सहयोगको आस गर्नुभएको छ ?
नगरपालिकाको एक्लो बलबुँताले भ्याउन नसकिने काम धेरै छन् । भारतीय सीमानजिक भएर पनि हामी निर्यातमुखी बन्न सकेका छैनाँै । कृषिको प्रचुर सम्भावना छ तर निर्यात गर्न सकेका छैनौँ । ढल निकास र व्यवस्थित बजारीकरणको खाँचो छ । खानेपानी र बजारी सौन्दर्यीकरण पूरा गर्नु छ । यी कार्यमा सङ्घीय र प्रदेश सरकारको सहयोग आवश्यक हुन्छ ।
सङ्घीय र प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नगरेको भन्ने आरोप लाग्ने गरेको छ । तपाईंको अनुभव के छ ?
सङ्घ र प्रदेशले हामीसँग समन्वय नगरी काम गर्दा अप्ठेरो परेको छ । प्रदेश सभा सदस्यमार्फत योजना बाँड्दा प्रभावकारी तरिकाले काम हुन सकेको छैन । अहिले प्रदेश सरकारले बनाएको कार्यविधिका आधारमा स्थानीय तहसँग समन्वय नगरी काम गर्ने प्रवृत्तिले केबल कार्यकर्ता मोटाउने कार्य मात्र भएको छ ।
तपाईंका भावी कार्यक्रम के के छन् ?
मेरो मुख्य लक्ष्य भनेकै लहान नगरपालिकालाई ऐतिहासिक, पर्यटकीय, कृषि, स्वास्थ्य र शैक्षिक हबका रूपमा विकास गर्नु रहेको छ । लहानमा लथालिङ्ग अवस्थामा रहेको शैक्षिक क्षेत्रलाई पहिलो वर्ष सुधार गर्ने प्रयास गरियो । स्वास्थ्य क्षेत्रको सुधारमा पनि पाइला चालियो । दोस्रो वर्षको प्राथमिकता कृषि तथा पर्यटनतर्फ हुने छ । लहानका किसानले अब खनजोत तथा फसल काट्नसमेत नगरपालिकाको ट्याक्टर निःशुल्क रूपमा पाउन सक्ने छन् । यसै गरी लहानको नगर क्षेत्रभित्र रहेको सलहेश फूलबारी, मानिक दह, हात्ती दह, काभ्रे महादेवस्थानलगायतको पर्यटकीय क्षेत्रको विकाससँगै चुरेमाथि होमस्टे बनाएर थारू संस्कृतिको जगेर्नासमेत गरिने छ ।