• ८ मंसिर २०८१, शनिबार

व्यापार घाटा कम गर्न निर्यात प्रवर्धनमा जोड

blog

काठमाडौँ, जेठ २५ गते ।  सरकारले स्वदेशी वस्तुको निर्यात प्रवर्धन गरी व्यापार घाटा कम गर्ने गरी नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस) कार्यान्वयनमा ल्याएको छ । 

नेपालको वस्तु तथा सेवाको निर्यात कुल गार्हस्थ उत्पादनको अनुपात ६.३ प्रतिशतबाट आगामी पाँच वर्षमा २० प्रतिशत पु-याउने लक्ष्यसहित सो रणनीति कार्यान्वयनमा ल्याएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति २०७३ लाई अद्यावधिक गरेर नयाँ वस्तु तथा सेवा थप गरी सो रणनीति कार्यान्वयनमा ल्याएको हो । मन्त्रीपरिषद्ले हालै पास गरेसँगै सो रणनीति कार्यान्वयनमा आएको हो । रणनीतिमा विभिन्न ३२ वटा वस्तु तथा सेवा राखिएको छ । कृषिजन्य वस्तु पाँच, वनजन्य वस्तु तीन, ठुला उद्योग चार, साना तथा घरेलु उद्योग पाँच, उदीयमान वस्तु ११ र भविष्यमा सम्भावना हुन सक्ने नयाँ वस्तु चार समावेश गरिएको छ । 

मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले निर्यातयोग्य सम्भावना भएका नयाँ वस्तु समावेश गरेर नयाँ रणनीति तयार गरिएको जानकारी दिनुभयो । स्वदेशी वस्तुको उत्पादन बढाएर निर्यात बढाउनु रणनीतिको मुख्य उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । वस्तु विकास तथा व्यापारका लागि उत्तम प्रणाली निर्माण, प्रतिस्पर्धात्मक क्षमताको निरन्तर सुधार, आर्थिक सङ्कट झेल्न सक्ने गरी बजार विविधीकरणको उद्देश्यसहित रणनीति कार्यान्वयनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।

तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, वस्तु तथा बजारको विविधीकरण गरी नेपाली वस्तुको निर्यात प्रवर्धन, कृषि तथा औद्योगिक वस्तुको उत्पादन तथा उपभोग वृद्धि गर्ने उद्देश्यसहित रणनीति कार्यान्वयनमा ल्याइएको हो । यस्तै स्वदेशी तथा विदेशी वैदेशिक लगानी वृद्धि, स्वदेशी उत्पादनको गुणस्तर सुधार गर्नु, व्यापार सहजीकरण गरी व्यापार तथा पारवहन लागत कम गर्नु रणनीतिको उद्देश्य रहेका छन् । 

रणनीतिमा निर्यात सम्भावना भएका कृषि क्षेत्रमा अलैँची, अदुवा, दलहन, जुट, चिया रहेका छन् । यस्तै वन क्षेत्रमा जडीबुटी तथा सुगन्धित वनस्पति, लोक्ताबाट बनेको हातेकागज, रोजिन र टर्पेन्टाइन रहेका छन् । साना तथा घरेलु उद्योग क्षेत्रमा गलैँचा, गहना, पस्मिना, पास्ता र ठुला उद्योगमा फलाम तथा स्टिल धागो तथा कपडा, जुत्ता, तयारी पोसाक रहेका छन् । 

उदीयमान वस्तु तथा भविष्यमा सम्भावना हुने सक्ने वस्तुमा सुगन्धित तेल, हिमालयन स्प्रिङ वाटर, तरकारी, फलफूल र तिनका प्रशोधित सामग्री, मसलाहरू, हस्तकला, लामा रेसाका कपडा, कफी, पिपिसि सिमेन्ट, छुर्पी र मह रहेका छन् ।

नयाँ तथा भविष्यमा सम्भावना हुन सक्ने वस्तुमा हाइड्रोजन ऊर्जा, बहुमूल्य पत्थर, खानीजन्य, नदीजन्य र वनजन्य स्रोतबाट प्राप्त हुने ढुङ्गा तथा ढुङ्गाजन्य अन्य उत्पादन रणनीतिमा राखिएको छ । नीतिगत तथा कानुनी परिमार्जन गरी हेम्प वा हेम्प जस्तै वनस्पति एवं सोबाट बनेका औषधीय गुण भएका सुगन्धित वस्तु राखिएको छ । 

पर्यटन, सूचना प्रविधि र इन्टरनेटमा आधारित सेवा, जलविद्युत्, निर्माण सेवा, दक्ष तथा अर्धदक्ष श्रम सेवा रणनीतिमा समावेश गरिएको छ । 

पूर्वाधार, संरचना प्रक्रिया र नियामकीय वातावरण तथा व्यापार सुशासन सुधार रणनीतिमा एकीकृत लजिस्टिक्स पूर्वाधार विकास र व्यापार सहजीकरण, खाद्य गुणस्तर र बाली स्वास्थ्य मापदण्ड सुदृढीकरण, गुणस्तर पूर्वाधार सुधार र औद्योगिक उत्पादनको गुणस्तर मापदण्ड लगानीको वातावरण सुधार, उत्पादन प्रक्रियामा चौथो र पाँचौँ पुस्ताका उद्योगको अवधारणा रणनीतिमा समावेश गरिएको छ । यस्तै प्रतिस्पर्धी वस्तु तथा सेवाको विकास र निर्यात बजार विस्तारमा वस्तु निर्यात क्षमता विस्तार गर्ने, सेवा निर्यात सृदृढ तुल्याउने रणनीतिमा उल्लेख छ । पाँच वर्षमा कार्यान्वयन गर्ने १८३ क्रियाकलाप कार्यान्वयन गर्न रणनीतिको चार खर्ब ६३ अर्ब २५ करोड सात लाख २० हजार रुपियाँ लागत रहेको छ । रणनीति कार्यान्वयनका लागि सरकारले आगामी आर्थिक वर्षका लागि करिब चार करोड रुपियाँ छुट्याएको छ । रणनीति कार्यान्वयन गर्न लाग्ने बजेट उपशीर्षकमा नेपाल सरकार र विकास साझेदारहरूले बजेट उपलब्ध गराउने, विकास साझेदारले व्यापारसम्बन्धी सहायता व्यापारमा क्षेत्रगत अवधारणा अन्तर्गत उपलब्ध गराउने अपेक्षा गरिएको छ ।