• ३ फागुन २०८२, आइतबार

एक हप्तामा १२३ जनाले लिए नयाँ नागरिकता

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी। तस्बिर: रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, फागुन ३ गते। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १२३ जनाले नयाँ नागरिकता लिएका छन्। गत आइतबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत नागरिकता एकसहित १२३ जनाले नयाँ नागरिकता लिनुभएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो। उहाँका अनुसार १४१ जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाउनुभएको छ। यस जिल्लामा नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि बनाउने प्रत्येक हप्ता बढी नै देखिएका छन्। 

एक हप्तामा नाबालक परिचयपत्र छ जनाको गराइएको छ। राहदानी आवेदन सङ्कलन १२५ र राहदानी वितरण ११८ जनाको गरिएको छ। राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३९३, राष्ट्रिय परिचयपत्र वितरण २८०, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित २१ जनाको गरिएको छ। यो साता एक संस्था दर्ता र ५ संस्था नविकरण गरिएको छ। हातहतियार नविकरण / नामसारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो। 

यस समयावधिमा प्रशासन कार्यालयले छ लाख ९० हजार २५० रुपियाँ राजस्व संकलन गरेको छ। जसमध्ये राहदानीबाट छ लाख ७० हजार रुपियाँ, संस्था दर्ता नविकरणबाट १२ हजार २५० रुपियाँ र राष्ट्रिय परिचयपत्रबाट आठ हजार रुपियाँ राजस्व संकलन भएको छ। प्रशासनले विगतदेखि नै एक हप्तामा सम्पादन गरेका कार्यहरुको विवरण आम नागरिकलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक गर्दै आएको बताइएको छ।