• ३ फागुन २०८२, आइतबार

झापामा ओली र साहको घरदैलो : सुरक्षा व्यवस्था कडा

blog

झापा ५ का उम्मेदवार केपी शर्मा ओली र बालेन्द्र शाह ।

विष्णुप्रसाद पोखरेल

दमक, फागुन ३ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुनः गृहजिल्ला झापा आउनुभएको छ । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका ओली मतदातासँगको घरदैलो कार्यक्रमका लागि झापा आउनुभएको हो ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य रोमनाथ ओलीका अनुसार आइतबार दमक आउनुभएका अध्यक्ष ओली सोमबारदेखि दमकका विभिन्न वडामा आयोजना हुने घरदैलो कार्यक्रममा सहभागी हुने तय भएको छ । यसअघि एक सातासम्म कमल, गौरादह र गौरीगन्ज पालिकाका घरदैलो कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्कनुभएका ओली पुनः झापा आउनुभएको हो । ओलीले यस पटक आफ्ना कार्यकर्ता तथा मतदाताका गुनासो नजिकबाट सुन्ने कार्यक्रम बनाइएको छ ।

साह पनि आउँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पनि घरदैलोमा सहभागी हुन आउने कार्यक्रम रहेको रास्वपाका नेता भेषराज भट्टराईले बताउनुभयो । कार्यक्रमको कार्यतालिका तय भइरहेको उहाँले जानकारी दिनुभयो । यसअघि पनि ओली झापा आएकै समयमा साहले यहाँ आएर दुई दिन घरदैलो र भेटघाट गरी फर्कनुभएको थियो ।

ओली र साहबिचको चुनावी प्रतिस्पर्धाका कारण दमकको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । यहाँको चुनावी प्रतिस्पर्धालाई निकै रोचक रूपमा हेरिएको छ । उम्मेदवारी मनोनयनका दिन दुई पक्षका समर्थकबिच सामान्य विवाद भएपछि प्रहरीले त्यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाउन दुवै पक्षलाई सजग गराएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख बसुन्धरा खड्काका अनुसार उम्मेदवार र मतदाताको सुरक्षामा प्रहरीले पर्याप्त ध्यान दिएको छ ।