राजु लामिछाने
रुकुमपश्चिम, फागुन ३ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–२ रातामाटा निवासी ५२ वर्षीय टेकबहादुर खड्का छैटौँ पटक निर्वाचन प्रहरीमा खटिनुभएको छ । वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा तत्कालीन म्यादी प्रहरीमा भर्ना हुनुभएका उहाँ आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुनः खटिनुभएको हो ।
स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षाको जिम्मेवारी पाउँदा उहाँले गौरव महसुस गर्नुभएको छ । खड्काले २०५१ सालको मध्यावधि निर्वाचन, २०७४ र २०७९ का विभिन्न तहका निर्वाचन तथा २०८२ को प्रतिनिधिसभा निर्वाचनमा कर्तव्यनिष्ठ भई खटिन पाउँदा खुसी लागेको बताउनुभयो । देशको महत्त्वपूर्ण घडीमा सेवक भएर योगदान दिनु जिम्मेवार नागरिकको कर्तव्य भएको उहाँको बुझाइ छ ।
परिवारको लालनपालनका साथै राष्ट्रिय दायित्व निर्वाहका लागि आफूले निर्वाचन प्रहरी रोजेको खड्काले बताउनुभयो । वैदेशिक रोजगारीका सिलसिलामा भारत, साउदी अरब र कतार रहेका बेला २०५६, २०६४ र २०७० का निर्वाचनमा योगदान गर्न नपाएकोमा उहाँलाई पछुतो छ । रुकुमपश्चिमस्थित सशस्त्र प्रहरी बल नेपाल ४७ नं. गुल्मले सञ्चालन गरेको निर्वाचन प्रहरी अनुशिक्षण तालिमको अन्तिम प्रवचन कार्यक्रममा खड्काले राष्ट्रलाई आवश्यक परेका बेला योगदान दिन पाउनु खुसीको विषय भएको उल्लेख गर्नुभयो ।
२०५१ को निर्वाचनमा सानीभेरी गाउँपालिका–१ को चाइनाबगरमा खटिएको स्मरण गर्दै खड्काले त्यस बेला सञ्चार, यातायात र नागरिक चेतनाको अभावमा सुरक्षा चुनौती बढी हुने गरेको सुनाउनुभयो । मतदानस्थलको मुख्य प्रवेशद्वारमा खटिँदा ढुङ्गामुढा र नाराबाजी भए पनि भिडलाई सम्झाइबुझाई शान्तपूर्वक मतदान सम्पन्न गराएको अनुभव उहाँसँग छ । उहाँले यसबीचमा बाँफिकोट, चौरजहारी र जिल्ला प्रहरीको निर्वाचन सेलमा रहेर सुरक्षाकर्मीको भूमिका निर्वाह गरिसक्नुभएको छ ।
खड्काले सेवा, सुविधा र जिम्मेवारीका हिसाबले पहिलेभन्दा अहिलेका निर्वाचन धेरै फरक रहेको बताउनुभयो । २०५१ मा म्यादी प्रहरी हुँदा तीन हजार रुपियाँ पारिश्रमिक पाएको उहाँले स्मरण गर्नुभयो । म्यादी प्रहरीको सट्टा 'निर्वाचन प्रहरी' भन्दा सुन्दा राम्रो लाग्ने र अहिलेको तालिम एवं अनुशासनले आफूलाई थप जिम्मेवार बनाएको उहाँको बुझाइ छ ।
सशस्त्र प्रहरी बल नेपाल ४७ नम्बर गुल्मका प्रहरी निरीक्षक झक्कुप्रसाद शर्माले खड्काको अनुभव र देशप्रतिको भाव अन्य निर्वाचन प्रहरीका लागि प्रेरक रहेको बताउनुभयो । अनुशासित र परिपक्व निर्वाचन प्रहरीका रूपमा चिनिनुहुने खड्काले सुनाउने सुरक्षा अनुभव अरूका लागि पनि शिक्षाप्रद हुने गरेको छ ।