काठमाडौँ, माघ २७ गते । आगामी शनिबार मनाइने प्रणय दिवस (भ्यालेन्टाइन डे) मा साढे पाँच करोड रुपियाँ बराबरको चार लाख ५० हजार स्टिम गुलाफ खपत हुने अनुमान गरिएको छ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा मनाइने प्रणय दिवसमा बजारमा गुलाफको माग धेरै हुने भएकाले यो वर्ष पाँच करोड ६२ लाख रुपियाँ बराबरको कारोबार हुने अनुमान गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ ।
फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले काठमाडौँ उपत्यकामा दुई लाख ७० हजार र उपत्यका बाहिर एक लाख ८० हजार स्टिम खपत हुने अनुमान गरिएको जानकारी दिनुभयो । प्रणय दिवसमा स्थानीय उत्पादनले माग धान्न नसक्दा ७० प्रतिशत फूल आयात गर्नु परेको उहाँले जानकारी दिनुुभयो । स्थानीय उत्पादनले ३० प्रतिशत माग धान्ने गरेको छ । बजारमा प्रतिस्टिम गुलाफको मूल्य एक सय रुपियाँदेखि १५० रुपियाँ रहेको छ । गत वर्षको प्रणय दिवसमा चार लाख २५ हजार स्टिम गुलाफको खपत भएको फ्यानले जनाएको छ । गत वर्ष गुलाफको मूल्य ९० देखि १२० रुपियाँ रहेको थियो ।
प्रणय दिवसमा बजार मागको ६० प्रतिशत गुलाफ उपत्यकाम र ४० प्रतिशत बाहिरी सहरमा खपत हुने फ्यानले जनाएको छ । चाडपर्वबाहेकको अन्य सामान्य दिनमा प्रतिदिन सरदर आठ हजारदेखि १२ हजार स्टिम गुलाफको माग हुने गर्छ । बजारमा माग धेरै हुने र स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले छिमेकी मुलुकबाट गुलाफ स्टिम आयात गर्ने गरेका छन् ।
प्रणय दिवस पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि यस दिनलाई महत्वसाथ मनाउने गरिन्छ । प्रणय दिवस फेब्रुअरी १४ मा पर्ने भए पनि एक हप्ताअघिदेखि नै यो दिवस मनाउने प्रचलन छ । यस पर्वमा प्रेमी जोडीले प्रेमको प्रतीक मानिने रातो गुलाफ आदानप्रदान गर्ने प्रचलन छ ।
फ्यानका अनुसार रातो गुलाफ विशेष गरी काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेमा व्यावसायिक रूपमा लगाउने गरिएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रे, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ किसिमका फूलको खेती तथा नर्सरी विस्तार भइसकेको छ । व्यावसायिक रूपमा ४५० प्रजातिका गुलाफ नेपालमा उत्पादन हुँदै आएको छ ।
चैत पहिलो साता राष्ट्रिय पुष्प मेला
यसैबिच आगामी चैत पहिलो साता २७ औँ फ्लोरा एक्स्पो हुने भएको छ । पुष्प व्यवसायको विकास, संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले सो प्रदर्शनी हुन लागेको हो ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासाथ चैत ५ देखि ८ सम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने छ ।
मेलामा नर्सरी व्यवसायीले उत्पादन गरेका गुणस्तरीय फूल र आलङ्कारिक बोटबिरुवाबिच विभिन्न विधामा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा उत्कृष्ट स्टल, उत्कृष्ट ल्यान्डस्केपिङ, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलङ्कारिक बिरुवा, उत्कृष्ट फुल्ने आलङ्कारिक बिरुवा, उत्कृष्ट पुष्प सजावट र उत्कृष्ट कट फ्लावर (गुलाफ, जरबेरा र कार्नेसन) जस्ता विधा समावेश छन् । प्रतिस्पर्धामा उत्कृष्ट हुने नर्सरी वा फर्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरिने जनाइएको छ ।