• २३ माघ २०८२, शुक्रबार

कोदोको उत्पादन घट्दै उपभोग र आयात बढ्दै

blog

काठमाडौँ, माघ २३ गते । बजारमा पछिल्लो समय कोदोको उपभोग बढ्दै गए पनि उत्पादन भने बर्सेनि घट्दै गएको छ । स्वास्थ्यका लागि लाभदायक हुने हुँदा कोदोको उपभोग बढी हुन थालेको छ । 

बजारमा कोदोको खपत बढ्दै गए पनि उत्पादन भने घट्दै गएको तथ्याङ्कले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा तीन लाख ७३२ मेट्रिक टन उत्पादन भएको थियो । यस्तै आव २०७९/८० मा दुई लाख २७ हजार ९३४ हेक्टर क्षेत्रफलमा तीन लाख १० हजार ८४७ मेट्रिक टन, आव २०७८/७९ मा दुई लाख ६७ हजार ७१ हेक्टर क्षेत्रफलमा तीन लाख ३९ हजार ४६२ मेट्रिक टन कोदो उत्पादन भएको थियो । कोदोजन्य बालीको उत्पादकत्व प्रतिहेक्टर १.३३ मेट्रिक टन रहेको छ ।

कोदोको खपत बढ्दै गए पनि पछिल्लो तीन आवको तथ्याङ्क हेर्दा कोदोको उत्पादनसँगै खेती गर्ने क्षेत्रफलसमेत घट्दै गएको छ । खेती गर्ने जनशक्ति नहुँदा पनि यसको उत्पादन घट्दै गएको हो । 

कृषि तथा विकास विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले कोदोबारे सचेतना बढ्दै गएकाले उपभोग बढ्दै गएको जानकारी दिनुभयो । कोदोको उत्पादन बढाउन तिनै तहका सरकारले रैथाने बाली प्रवर्धन कार्यक्रम सञ्चालन गरेको जानकारी उहाँले दिनुभयो । ससर्त अनुदानमार्फत ८८ वटा पालिमा रैथाने बाली प्रवर्धन गर्नका लागि ‘मन्कालउ’ ले छ करोड रुपियाँ बजेट पठाएको उहाँले जानकारी दिनुभयो । स्थानीय तहले पनि कोदोको उत्पादन प्रवर्धन कार्यक्रम सञ्चालन गरिरहेको भन्दै उहाँले सहकारीमार्फत कोदोको उत्पादन, बिक्रीवितरण सुधार गर्न ‘मिनी ट्रिलर मेसिन’ वितरण गरिएको जनाउनुभयो । 

साढे दुई अर्बभन्दा बढीको आयात

बजारमा खपत बढ्दै गएपछि स्थानीय उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट कोदो आयात हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो साढे चार वर्षमा साढे दुई अर्ब रुपियाँभन्दा बढीको कोदो आयात भएको छ । आर्थिक वर्ष २०७८/७९ देखि चालु आव २०८२/८३ को छ महिनामा (साउन–पुस) दुई अर्ब ६७ करोड ३० लाख रुपियाँ बराबरको कोदो आयात भएको छ । 

विभागका अनुसार चालु आव २०८२/८३ को सात महिनामा ३७ करोड ५९ लाख ५५ हजार रुपियाँ बराबरको ७४ लाख ३८ हजार ४०८ केजी कोदो आयात भएको छ । यस्तै आव २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपियाँ बराबरको एक करोड ५३ लाख १५ हजार ९०६ केजी कादो आयात भएको थियो । 

यस्तै आव २०८०/८१ मा ७५ करोड ८९ लाख तीन हजार रुपियाँ बराबरको एक करोड ५२ लाख ९८ हजार १८३ केजी, अव २०७९/८० मा ७३ करोड २० लाख १३ हजार रुपियाँ बराबरको एक करोड ८४ लाख तीन हजार ४८९ केजी र आव २०७८/७९ मा तीन करोड ९९ लाख २३ हजार रुपियाँ बराबरको ११ लाख ९५ हजार केजी कोदो आयात भएको थियो ।  कोदो र कोदोको बिउ आयात हुने गर्छ । भारत, चीन र कतारबाट नेपालमा कोदो आयात हुने गर्छ । नेपालबाट भने न्यून परिमाणमा मात्र कोदो निर्यात हुने गर्छ । जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले कोदोको परिकार स्वास्थ्यका लागि लाभदायक हुने जानकारी दिनुभयो ।  कोदोमा क्याल्सियम, आइरन, फाइबर, प्रोटिन म्याग्नेसियम, फस्फोरस, भिटामिन ‘बी’, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्व पाइने भएकाले पनि उपभोग गर्दा स्वास्थ्यलाई फाइदा पुग्ने उहाँको भनाइ छ । 

पोषणविद्का अनुसार कोदोमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ । कोदोमा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुग्ने बताइएको छ । यस्तै कब्जियत र ग्यासको समस्या भएकाले नियमित रूपमा कोदोको रोटी वा ढिडो खाँदा लाभदायक हुुन्छ । मधुमेहबाट बच्न कोदोका परिकार लाभदायक हुन्छ । पछिल्लो समय होटेल, रेस्टुरेन्टदेखि मेला महोत्सवमा कोदोका परिकार बनाएर बिक्री गरिन्छ ।