• ८ वैशाख २०८१, शनिबार

बजेटले राष्ट्रिय आकाङ्क्षा सम्बोधन गर्न सकेन : अध्यक्ष ओली

blog

प्रतिनिधिसभा बैठकमा बजेटमाथि धारणा राख्नुहुँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । तस्बिर : केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २३ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकाङ्क्षा सम्बोधन गर्नेखालको आउन नसकेको बताउनुभएको छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने विषयभन्दा बजेट अन्यत्र बहकिएको उहाँको भनाइ छ । 

प्रतिनिधि सभा बैठकमा आज विशेष समय लिएर सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि टिप्पणी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि ठोस योजना बजेटमा नभएको उहाँले आरोप लगाउनुभयो । बजेटमा चिलको आँखाजस्तो भिजन हुनुपर्नेमा लाटोकोसेराजस्तो भएको उहाँले टिप्पणी गर्नुभयो । 

बजेट मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने उहाँको भनाइ छ । त्यसअवसरमा अध्यक्ष ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्नुभन्दा पनि उपलब्धि देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले निर्माण गरेको संविधानले प्राप्त गर्ने लक्ष्य राखेको समाजवादउन्मुख अर्थ व्यवस्थाको मार्गबाट बजेट विचलित भएको छ । संविधानमा समाजवादउन्मुख अर्थतन्त्र भनेको छ । समाजवाद उन्मुख अर्थतन्त्र भनेको पुँजी उन्मुख होइन, मानव उन्मुख हो ।’ 

बजेटले आम जनताको जीवनस्तर माथि उठाउने हुनुपर्ने उहाँले बताउनुभयो । उत्पादन, उत्पादकत्व वृद्धि गर्ने नाममा पुँजीको केन्द्रीकरण गर्न नहुने उहाँको सुझाव छ । वितरणमा न्यायोचिततासहितको बजेट आउनुपर्थ्यो, त्यसमा बजेट चुकेको छ उहाँले भन्नुभयो । “नेपाल र नेपालीको राष्ट्रिय आकाङ्क्षाप्रति बजेट विल्कुल विमुख छ” उहाँले थप्नुभयो, “परिणामबाट, उपलब्धिबाट जवाफ दिनुस्, म सत्तापक्षलाई आग्रह गर्छु ।” 

अध्यक्ष ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट सच्याए बापत सरकार असफल भयो भनेर भन्दैनौँ हामी, सरकारले बजेट परिवर्तन गर्‍यो भन्दैनौँ । देश र जनताका लागि बजेट सच्याउन सरकार तयार हुनुपर्छ ।”