• १३ वैशाख २०८१, बिहिबार

मिडिया फेस्टिभलको तयारी सकियो

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, जेठ २३ गते । रुपन्देहीको देवदहमा पहिलो पटक ‘मिडिया फेस्टिभल’ हुने भएको छ । बुधबार (जेठ २४ गते) भोलिदेखि २६ गतेसम्म देवदह प्रेस क्लबले पहिलो पटक मिडिया फेस्टिभल गर्न लागेको हो । 

फेस्टिभलको सबै तयारी पुरा भएको देवदह प्रेस क्लबका अध्यक्ष तथा फेस्टिभलका संयोजक विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले भोलि फेस्टिभलको उद्घाटन गर्नुहुने छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै मावली देवदहमा पर्यटन विकास गर्ने लक्ष्यसहित गर्न लागिएको फेस्टिभलमा मोफसल तथा राष्ट्रिय पत्रिकाका सम्पादक, रेडियो टेलिभिजन तथा अनलाइनका सम्पादक तथा लेखक, पर्यटन, कृषि, सहकारी, वन, तथा कानुनका ज्ञाता, जनप्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने पनि उहाँले जानकारी गराउनुभयो ।

कोलीय गणराज्यको राजधानी गौतम बुद्धको मावली देवदहमा गर्न लागिएको यो कार्यक्रमले देवदहको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास गरिएको उहाँको भनाइ छ ।

तीन दिनसम्म हुने यो कार्यक्रममा फरकफरक सत्रमा मिडियाको वर्तमान अवस्था, भूमिका, वन, पर्यटन, कृषि तथा सुशासनका विषयमा छलफल गरिने देवदह मिडिया क्लबकी उपाध्यक्ष तथा फेस्टिभलकी सहसंयोजक कमला अर्यालले बताउनुभयो ।

कार्यक्रम सम्पन्न गर्न क्लबका अध्यक्ष पोखरेललाई संयोजक र उपाध्यक्ष अर्याललाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको क्लबका सचिव निर्मल थापाले जानकारी दिनुभयो । त्यस्तै, सचिव थापालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

फेस्टिभल सम्पन्न गर्नको लागि विभिन्न उपसमिति बनाएर सदस्यहरूलाई जिम्मेवारी प्रदान गरिएको छ ।