• १४ वैशाख २०८१, शुक्रबार

मार्तडी बजारको मुहार फेरिँदै

blog

पछिल्लो समय मुहार फेरिँदै गएको मार्तडी बजार । तस्विर : शेरबहादुर सार्की, बाजुरा

शेरबहादुर सार्की

बाजुरा, जेठ २२ गते । पछिल्लो समय बाजुराको सदरमुकाम मार्तडी बजारको मुहार फेरिँदै गएको छ । बडिमालिका नगरपालिले मार्तडीमा रहेका पुराना भौतिक संरचनाहरू भत्काउँदै भूकम्प रहित नयाँ घर सडक निर्माण गरेपछि जिल्ला सदरमुकाम मार्तडी बजारको मुहार फेरिँदै गएको हो ।

केही वर्ष पहिले सरकारी काम काजका लागि मार्तडी आउने सेवाग्राहीलाई बास बस्न नै समस्या हुने मार्तडी बजारमा अहिले विभिन्न प्रकारका सेवा सुविधा सहज रूपमा पाउन थालेको छ ।

बडिमालिका नगरपालिका –८ स्थानीय रामबहादुर बोहराले पहिला यहाँका अधिकांश स्थानीयलाई, खानेपानी तथा हिँड्ने गोरेटो बाटोमा  समेत असहज हुने गरेको थियो भने अहिले घरघरै खानेपानीको धारा तथा एक कार्यालयदेखि अर्को कार्यालयसम्म पुग्नका लागि सडकको सुविधा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, "पहिला सरकारी कार्यालयले स्थानीयका घर भाडामा लिएर सेवा सुविधा दिने गर्थ्यो । अहिले ती अधिकांश सरकारी कार्यालयले आफ्नै भवनमा सेवा दिँदै आएको छ ।"

पहिले मार्तडी बजारको वरिपरि रहेको खेती योग्य जमिन अहिले मासिँदै गएको छ । बुढीगङ्गा, त्रिवेणी, छेडेदह, बुढीनन्दा, गौमुल लगायतका स्थानीयले समेत मार्तडीमा बसोबास गर्न थालेपछि मार्तडी बजारको वरिपरि रहेको खेती योग्य जमिनमा समेत भवन निर्माण हुँदै गएका छन् ।

सदरमुकाम मार्तडीमा विभिन्न सेवा सुविधा तथा व्यापार व्यवसाय गर्न समेत सहज हुने भएपछि जिल्लाका अन्य स्थानीय तहबाट समेत स्थानीय मार्तडीमा बसोबासपछि खेती योग्य जमिन भवन निर्माण हुन थालेका हुन् ।

तल्लो क्षेत्रका स्थानीयको डाब, रिठा, बेलाल्माण्डौ, फालासैन ताँप्री सेरा, बल्दे, आटिचौर लगायत बजार भएपनि गौमुल, बुढीनन्दा, स्वामिकार्तिक, जगनाथ, हिमाली, लगायतका स्थानीयको भने मुख्य बजार भने मार्तडी हो । मल्लो क्षेत्रका केही स्थानीय तहमा स्थानीय बजार भएपनि सो बजारमा समेत अहिले पनि सदरमुकाम मार्तडीबाटै नै दैनिक उपभोग्य समान जाने गर्दछ । 

जिल्लाका अन्य स्थानीय तहबाट पनि अहिले सरकारी काम कामकाज लागि मार्तडी नै जाने गर्दछन् । 

मार्तडीको मुहार फेर्नका लागि स्थानीय सरकारले खानेपानी, शिक्षा, स्वास्थ्य सडक, पुल लगायतका भौतिक पूर्वाधारका संरचनाहरूलाई विशेष जोड दिँदै आएको बडिमालिका नगरपालिकाले जनाएको छ । यहाँका स्थानीयको पहिलो प्राथमिकता शिक्षा स्वास्थ्य, खानेपानी बाटो लगायतका भौतिक संरचना रहेकोले नगरपालिकाले पनि त्यसैलाई जोड दिँदै गएपछि मार्तडीको मुहार फेरिँदै गएको बडिमालिका नगरपालिका नगर प्रमुख अम्म खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, "पुराना भौतिक संरचनाहरूका कारण चमत्कार ल्याउन नसकेको मार्तडी बजारमा अहिले भूकम्प रहित नयाँ भवन निर्माण हुँदै गएपछि बल्ल मुहार फेरिँदै गएको छ ।"