• १२ वैशाख २०८३, शनिबार

घोडाघोडीमा आगलागीबाट होटल कामदारको मृत्यु

blog

चाँदनी आचार्य
घोडाघोडी (कैलाली), वैशाख १२ गते ।
कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित विवेक रेस्टुरेन्ट एण्ड बारमा कार्यरत एक कामदारको आगलागीमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराको आलिताल गाउँपालिकाका ३२ वर्षीय मिनबहादुर बोहरा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सुखडका अनुसार रातिको समयमा होटल बन्द गरी आफ्नै कोठामा सुतेका बोहराले लामखुट्टे धपाउन अण्डाको क्यारेट जलाएर कोठामा राखेको खुलेको छ । मध्यरातमा सो आगो कपडामा सल्किएपछि कोठाभित्र आगलागी भएको र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले प्रारम्भिक अनुसन्धानमा बन्द कोठाभित्र लामखुट्टे धपाउन बालिएको आगो फैलिँदा दुर्घटना भएको देखिएको बताउनुभयो ।

राति करिब १ बजे आगलागी भएको र जानकारी पाएलगत्तै घोडाघोडी नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।