• १६ चैत २०८०, शुक्रबार

अफगानिस्तानमा ७७ छात्रासहित ९० जनालाई विष खुवाइएको पुष्टि

blog

सार–ए–पोल, अफगानिस्तान, जेठ २२ गते । अफगानिस्तानको एक ग्रामीण क्षेत्रमा ७७ छात्रासहित ९० जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ ।

अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका ७७ छात्रासहित ९० जनालाई विष खुवाइएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक मुफ्ती अमिर सारिपुलीतले सोमबार जानकारी दिनुभएको हो ।

सरिपुलितले भन्नुभयो, “सञ्चारक जिल्लाको काबोद अब क्षेत्रमा रहेको फैजाबाद छात्रा विद्यालयका ७७ विद्यार्थी, सात शिक्षक, पाँच अभिभावक र एक जना कर्मचारीलाई विष खुवाइएको थियो । उनीहरूको अवस्था स्थिर छ ।”

अधिकारीका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

यसैबीच एक पीडित छात्राकी आमा महनाजले घटनाको निन्दा गर्दै प्रान्तीय प्रशासनलाई घटनामा संलग्नको पहिचान गरी कानुनको कठघरामा ल्याउन आग्रह गर्नुभएको छ ।

अर्का विद्यार्थी अलि आगा करबलाईका पिताले प्रभावित विद्यार्थीको सङ्ख्या ८० भन्दा बढी रहेको बताउँदै छोरीको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको बताउनुभयो ।

गाउँलेका अनुसार आइतबार ८० जना विद्यार्थीसहित ९० जना एक्कासि बिरामी परेपछि उनीहरूलाई अस्पताल लगिएको थियो । उनीहरूलाई कसरी विष आक्रमण गरियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस/सिन्ह्वा