• २० वैशाख २०८१, बिहिबार

जातजाति र मातृभाषा बढे, धर्म यथावत्

blog

काठमाडौँ, जेठ २२ गते । राष्ट्रिय जनगणना २०७८ को परिणामले नेपालमा जातजाति, मातृभाषा र धर्मको सङ्ख्या क्रमशः १४२, १२४ र १० कायम गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार २०६८ सालको जनगणनाको तुलनामा पछिल्लो जनगणनामा जातजाति र मातृभाषाको सङ्ख्या वृद्धि भए पनि धर्मको सङ्ख्या यथावत् रहेको देखिएको छ।

२०७८ सालको जनगणना परिणाम अनुसार मुलुकमा १७ वटा जातजाति थप भएको हो। २०६८ को जनगणनामा जातजातिको सङ्ख्या १२५ रहेकामा अहिले १४२ कायम भएको छ। त्यसै गरी २०६८ को जनगणना अनुसार १२३ वटा मातृभाषा कायम गरिएकोमा २०७८ सालको जनगणना परिणामले १२४ कायम गरेको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्क उपअधिकारी डा. हेमराज रेग्मीले २०६८ को जनगणनाअनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिको सङ्ख्या न्यून भएकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी अहिले नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको बताउनुभयो।

उहाँले उत्तरदाताहरूले दिएका जवाफ तथा विज्ञ समूहको सिफारिसका आधारमा जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित तथ्याङ्क कायम गरिएको स्पष्ट पार्नुभयो। २०६८ सालको जनगणनामा कायम गरिएका सबै जातजाति, भाषा र धर्म २०७८ को जनगणनामा समेत यथावत् छ।

गत २०७९ साल चैत १० गते राष्ट्रिय जनगणना २०७८ को परिणाम सार्वजनिक गरिएको थियो। त्यसबेला जातजाति, मातृभाषा र धर्मबाहेक जनगणनाको पूर्ण विवरण सार्वजनिक गरिएको थियो। जनगणनाको पूर्ण विवरण अनुसार मुलुकको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। 

कुल जनसङ्ख्याको अनुपातमा पुरुष ४९.९८ प्रतिशत र महिला ५१.०२ प्रतिशत रहेको छ। २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो। अन्य लिङ्गीको सङ्ख्या दुई हजार ९२८ जना रहेका छन् भने कुल जनसङ्ख्याको ०.०१ प्रतिशत रहेको छ।

पछिल्लो जनगणनाको पूर्ण विवरणअनुसार नेपाली भाषा पहिलो स्थानमा रहेको छ। नेपाली मातृभाषी कुल सङ्ख्या एक करोड ३० लाख ८४ हजार ४५७ (४४.८६ प्रतिशत) छ। त्यसै गरी मैथिली (११.०५ प्रतिशत), भोजपुरी (६.२४ प्रतिशत), थारू (५.८८ प्रतिशत), तामाङ  (४.८८ प्रतिशत), बज्जिका (३.८९ प्रतिशत), अवधी (२.९६ प्रतिशत) र नेपालभाषा (२.९६ प्रतिशत) क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ 

स्थानमा रहेका छन्। त्यसै गरी हिन्दु, बौद्ध, इस्लाम, किरात, क्रिश्चियन, प्रकृति, बोन, जैन, बहाई र शिख क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दसौँ स्थानमा रहेका छन्।

 राई र रानाथारू समुदायको विरोध 

 राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को पछिल्लो तथ्याङ्कप्रति किरात राई र रानाथारू समुदायले विरोध जनाएको छ। आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर किराती राई समुदायका साझा सामाजिक संस्था किरात राई यायोक्खासहित २० वटा भाषिक संस्थाले विभागले सार्वजनिक गरेको जाति तथा भाषाको तथ्याङ्कबारे विरोध जनाएको हो। 

सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिमा विभागले राई समुदायभित्रका बान्तवा, चाम्लिङ, कुलुङ, थुलुङलगायतका विभिन्न भाषिक समूहलाई छुट्टै जातिका रूपमा उल्लेख गरेर राई समुदायको सङ्ख्या कम देखाएको, करिब ४० हजारको सङ्ख्यामा रहेको देवास राईको मातृभाषा देवासको कुनै तथ्याङ्कै गायब पारिएको, राई भाषा भन्ने छुट्टै कुनै भाषा नभए पनि करिब एक लाख ४५ हजार सङ्ख्या देखाइएको जस्ता विषयमा यायोक्खाको आपत्ति रहेको उल्लेख गरिएको छ। 

यायोक्खाले यी सबै तथ्याङ्क सच्याउन पनि माग गरेको छ। यसैबिच एक छुट्टै विज्ञप्ति जारी गर्दै किरात देवास राई उत्थान समाजले पनि जाति र भाषाबारे सार्वजनिक तथ्याङ्कप्रति विरोध जनाउँदै यथाशीघ्र संशोधन गर्न माग गरेको छ। 

धनगढी समाचारदाताका अनुसार आदिवासी जनजाति रानाथारू समुदायका अगुवाले जनगणनामा आफ्नो समुदायको यकिन तथ्याङ्क नसमेटिएको जिकिर गरेका छन्। दुई जिल्लामा तीन लाखभन्दा बढी जनसङ्ख्या रहेको दाबी गर्दै आएका यो समुदायका अगुवा २०७८ सालको जनगणनाको तथ्याङ्क सार्वजनिक भएपछि झस्किएका हुन्। जनगणनाले नेपालमा रानाथारू समुदायको जनसङ्ख्या ८३ हजार ३०८ (कुल जनसङ्ख्याको ०.२९ प्रतिशत) रहेको देखाएको छ। 

जनगणनामा केही तलमाथि हुनु स्वाभाविक रहे पनि रानाथारू समुदायको जनसङ्ख्याको तथ्याङ्क विश्वासै गर्न नसकिने आएको नेपाल रानाथारू समाजका अध्यक्ष कृपाराम रानाले बताउनुभयो। “भाषिक रूपमा रानाथारूको जनसङ्ख्या आउनु ठिक हो,” उहाँले भन्नुभयो, “तर यकिन तथ्याङ्क नआउनुचाहिँ बेठिक हो।” सार्वजनिक भएको तथ्याङ्कप्रति नेपाल रानाथारू समाजले आपत्ति पनि जनाएको छ। 

यसअघिको जनगणनामा यो समुदायको जनसङ्ख्या थारूभित्र समेटिने गरेको थियो। २०७६ माघ २० गते सरकारले रानाथारू समुदायलाई छुट्टै आदिवासी जनजातिका रूपमा सूचीकृत गरेपछि पहिलो पटक रानाथारू समुदायको मात्रै जनसङ्ख्या निकालिएको हो।