• ८ मंसिर २०८१, शनिबार

रामजी राम अब दर्तावाल डाक्टर !

blog

काठमाडौँ, जेठ २२ गते। रौतहट गढिमाई नगरपालिका–९ का रामजी रामको विद्यालयमा अध्ययन गर्दा ठुलो सपना थिएन । भारतको पन्जाबमा गएर धान या उखु काट्ने काम गर्ने र आमाबुबालाई राम्रोसँग पाल्ने मात्र उहाँको लक्ष्य थियो । 

समाजका सबै मानिस जागिरका लागि पन्जाब जान्थे, धान काट्थे र पैसा कमाएर ल्याउँथे । त्यसैले उहाँले त्यसभन्दा माथि सोच्नुभएन । तर रामजी रामको जिन्दगीले अहिले अर्कै मोड लिएको छ । धान काटेर आमाबाबु पाल्ने सपनाभन्दा ठुलो क्षितिजमा उहाँ पुग्नुभएको छ । 

रामजीले देख्दै नदेखेको सपना चिकित्सक भएर बिरामीको उपचार गर्ने सपना भने पूरा भएको छ । अब रामजी रामले सरकारले पठाएको ठाउँमा गएर बिरामीको उपचार गर्नुपर्ने छ । उहाँले मेडिकल काउन्सिलले लिएको एमबिबिएस लाइसेन्स परीक्षा उत्तीर्ण गरी रजिस्टर्ड डाक्टर बन्नुभएको छ । उहाँ चमार समुदायका पहिला डाक्टर बन्नुभएको छ । 

उहाँको यो यात्रा सहज थिएन । वरपरका मानिस विद्यालयमा जाँदैन थिए । उनीहरूको उद्देश्य नै पन्जाब जाने, धान या उखु काट्ने र पैसा कमाउने मात्र हुन्थ्यो । यति मात्र होइन, रामजी राम विद्यालय जाँदा पनि उहाँका बुबालाई छोरालाई किन विद्यालय पठाएको भन्थे । बरु राम्रोसँग धान काट्न सिकाउनु, पन्जाब गएर कमाउने सपना पूरा गर्दछ भनेर प्रेरित गर्थे । 

बुबाले ‘पढाइ छोड्छस् त बाबु ?’ भन्दा ‘होइन बा पढ्न मन छ, पढ्छु’ भनेर जवाफ दिएको रामजीलाई अझै याद छ । प्राथमिक तहसम्म त गाउँमै विद्यालय भएकाले रामजीलाई अध्ययन गर्न सजिलो भयो । प्राथमिक तह अध्ययन सकेपछि गाउँबाट टाढा जानुपर्ने थियो । 

चमारको छोरा भनेर डेरा पाउनै मुस्किल हुन्थ्यो । पछि विद्यालयका शिक्षकले विद्यालयमा एउटा कोठाको व्यवस्था गरिदिए । रामजीको उच्च माध्यमिक अध्ययन रौतहटकै श्री उच्च मावि गरुडाबाट विज्ञान विषयमा भयो । विद्यालयमा पहिलो भएपछि पैसा तिर्नु पर्दैनथ्यो भनेको सुनेर मेहनत गर्ने र सधैँ प्रथम भएको रामजीले सुनाउनुभयो । 

उच्च माध्यमिक सकेपछि रामजीको भविष्य अन्योल थियो । बाआमाले भिनाजुसँग प्रेसर कुकर बनाउनलाई काठमाडौँ पठाउनुभयो । भिनाजु त्यो बेला पनौती, बनेपामा प्रेसरकुकर बनाउँदै हिँड्नु हुन्थ्यो । उहाँले पनि भिनाजुसँग प्रेसरकुुकर बनाउन सिक्नुभयो । 

एक महिना प्रेसरकुकर बनाउन सिकेपछि कलेजबाट एक जना सरले फोन गरेर अध्ययनबारे सोध्नुभयो र भन्नुभयो, “तिम्रो पढाइ राम्रो छ, त्यसरी कुकर बनाउने काममा नहिँड ।” सरको सल्लाहले इन्जिनियरिङ तयारी गर्दागर्दै विज्ञान पढाउने सरले बागबजार गएर एमबिबिएसको तयारी गर्न भनेपछि रामजी बागबजारमा गएर एमबिबिएस प्रवेश परीक्षाको तयारी गर्न थाल्नुभयो । 

त्यसबेला उहाँ टेकुमा सुकुम्बासी बस्तीमा जोगीसँग बसेर उनीहरूको खाना पकाएर सहयोग गर्नुहुन्थ्यो । अहिले पनि कहिलेकाहीँ सुकुम्बासी बस्तीमा गएर बस्नुहुन्छ । 

रामजीले १० कक्षादेखि ट्युसन पढाउन थाल्नुभएको थियो । त्यसबाहेक कोही कोहीले ५० रुपियाँ दिन्थे । सुकुम्बासी बस्तीका बालबालिकालाई पनि ट्युसन पढाउनुभयो । मासिक एक हजार जति हुन्थ्यो । धान काटेर बाबुआमा पाल्ने सपना देखेको रामजी अहिले डा रामजी राम हुनुभएको छ । 

गोरखापत्रसँगको कुराकानीमा उहाँले अब सरकारले खटाएको ठाउँमा गएर बिरामीको उपचार गर्ने बताउनुभयो । एमबिबिएस अध्ययन गर्दा पनि आफूले धेरै समस्या भोग्नु परेको गुनासो उहाँले गर्नुभयो । वीरगन्जको नेसनल मेडिकल कलेजमा अध्ययन गर्दा उहाँलाई कलेजले होस्टल शुल्क आठ लाख ५० हजार र अन्य शुल्क गरी १४ लाखको बिल थमाएको उहाँको अनुभव छ । 

त्यस बेला कलेजले परीक्षा दिन अनुमति दिएको थिएन । उक्त विषय समाचारमा आएपछि रुटिन अफ नेपाल बन्दमार्फत २० लाख ४५ हजार उठेको र त्यसैबाट कलेजको होस्टल शुल्क तिरेको उहाँको भनाइ छ । बाँकी पैसा गरिब विद्यार्थीको होस्टल शुल्कमा खर्च भयो । एमबिबिएसको लाइसेन्स परीक्षा पास गरेपछि उहाँले आफूलाई सहयोग गर्ने सबैप्रति धन्यवाद दिनुभएको छ । २०७२ सालमा सरकारले चमार, डोमलगायतका जातिलाई निःशुल्क डाक्टर पढाउने नीति लिएपछि आफू डाक्टर भएको उहाँको भनाइ छ । आफूलाई सहयोग गर्ने विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूलाई उहाँले धन्यवाद दिनुभएको छ ।

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।