• ४ फागुन २०८२, सोमबार

फेवातालको मापदण्डमा पर्ने दुई संरचना भत्काइयो

blog

सोमबार भत्काइएको रातोमाटोको निर्माणाधीन भवन । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन ४ गते । पोखरा महानगरपालिकाले वडा नम्बर १८ स्थित सेदी र रातोमाटो डाँडामा अनुमतिविना बनाउँदै गरेका दुई संरचना भत्काएको छ । महानगरको अनुमति नलिइ निर्माण भइरहेका ती संरचना सोमबार महानगर प्रहरी र नेपाली प्रहरी परिचालन गरी भत्काइएको हो । 

रातोडाँडामा बन्दैगरेको किशोर दाहालको भवन र सेदीमा बन्दैगरेको सुशील गुरुङको भवन महानगरले भत्काएको हो । महानगरका प्रहरी प्रमुख पुरुषोत्तम थापाले कार्यालयको निर्णय बमोजिम दुई संरचना भत्काइएको जानकारी दिनुभयो । 

“रातोमाटोमा फेवातालको ६५ मिटर मापदण्डमा पर्ने र सडकमै जोडेर बनाउँदै गरेको र सेदीमा तालघरमा बन्दै गरेका दुई संरचना भत्काएका छौँ” उहाँले भन्नुभयो, “पटक पटक नबनाउन आग्रह गर्दा पनि रातिको समयमा निर्माण गरेकाले भत्काएका छौँ ।” यसअघि नगर प्रहरीको टोलीले निर्माणस्थलमा पुगेर काम रोक्का राख्नुका साथै निर्माण सामग्री नियन्त्रणमा लिएको थियो । 

नियम मिचेर संरचना निर्माण गर्नेक्रम नरोकिएपछि कार्यालयको आदेशानुसार फागुन ४ गते नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोली परिचालन गरी ती संरचना हटाइएको छ । 

महानगरले सोमबार सूचना जारी गर्दै भनेको छ, “महानगर क्षेत्रभित्र कुनै पनि अस्थायी तथा स्थायी संरचना निर्माण गर्नुपूर्व नगरपालिकाको अनुमति लिएर मात्र गर्नु होला, अन्यथा कारबाहीको भागी हुनुपर्नेछ ।’ 

महानगरले प्रचलित नियमको पालना गरी विकास निर्माणको काममा सहयोग गर्न सबैमा अनुरोध गरेको छ । रातोमाटोमा सोमबार भत्काएको भवननजिकै हालै  क्याफे बनिसकेको छ । सेदीमा क्याफे क्यालिफोर्निया नामको क्याफे तालघरमै बन्नेक्रममा छ । यी संरचना भने महानगरले हटाएको छैन ।