निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार निर्वाचनको औपचारिक प्रचारप्रसार सुरु भएको छ । चुनावमा भाग लिएका राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार सोमबारदेखि औपचारिक रूपमा आआफ्नो निर्वाचन क्षेत्रका मतदातासामु पुगेका छन् । आयोगले फागुन ४ देखि १८ गतेसम्म निर्वाचनको औपचारिक प्रचारप्रसार गर्ने समयसीमा तोकेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि आयोग, सरकार, राजनीतिक दल र सरोकारवाला सबै पक्ष अन्तिम तयारीमा जुटेका छन् । मुलुक निर्वाचनमय बनेको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार फागुन ४ बाट मात्र आमसभा, कोणसभा, जुलुस तथा सामूहिक घरदैलोसहित चुनावी कार्यक्रम गर्न खुला गरिएको हो । यस पटक मतदान हुने दिनभन्दा १७ दिनअघिबाट मात्र सभा, जुलुस गर्न पाउने व्यवस्था गरिएको छ । मतदान भन्दा अगाडि ४८ घण्टाको मौन अवधिमा पनि दलले प्रचारप्रसार गर्न पाउने छैनन् । फागुन १८ गते राति १२ बजेबाट मौन अवधि सुरु भएपछि प्रचारप्रसार बन्द हुने छ । यस पटक राजनीतिक दलले मुख्य प्रचारप्रसारका लागि १५ दिनको समय पाएका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानुन र निर्वाचन आचारसंहिताको अधीनमा रहेर दल र उम्मेदवारले प्रचारप्रसार गर्नेमा आयोग विश्वस्त रहेको बताउनुभएको छ । मुलुकलाई नयाँ निकास दिने निर्वाचन भएकाले मतदातामा उत्साह बढेको छ । मतदाता शिक्षालगायतको तयारीले मतदानको प्रतिशत बढ्ने र बदर मतको प्रतिशत घट्ने अपेक्षा गरिएको छ ।
निर्वाचन स्वच्छ, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आयोगले ६४ बुँदे निर्देशन जारी गरेको छ । यस निर्देशनलाई पूर्ण रूपमा पालना गराएर निर्वाचन स्वच्छ, प्रतिस्पर्धी र मर्यादित बनाउने आयोगको योजना छ । हरेक दल निर्वाचन प्रचारप्रसारका क्रममा मर्यादित र शिष्ट रूपमा प्रस्तुत हुनुपर्ने छ । कुनै पनि मतदातालाई निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुनबमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदान अधिकार प्रयोग गर्नबाट वञ्चित गराउन पाइने छैन । कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पु¥याउने, धाकधम्की, डरत्रास देखाउने, कुनै किसिमले लोभलालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भड्काउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा पार्नु हुँदैन । निर्वाचनको अवधिभित्र कुनै मतदातालाई निजको मतदान अधिकार प्रयोग गर्न वा नगर्न तथा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम दिन पाइने छैन । दानदातव्य र बकसका रूपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोजको आयोजना गर्न वा त्यस्तो प्रयोजनका लागि नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न वा सार्वजनिक भोजमा सहभागी हुन रोक लगाइएको छ । निर्वाचन प्रचारप्रसार गर्दा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा आँच पु¥याउने वा खलल पार्ने काम नगर्न, जनतामा निहित सार्वभौमसत्ता र राजकीय सत्ता वा प्रतिस्पर्धात्मक बहुदलीय सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थामा खलल पार्ने, कुनै धर्म, जातजाति, वर्ग, क्षेत्र वा सम्प्रदायबिचको सुसम्बन्धमा खलल पु¥याउने कार्य गर्नु हुँदैन ।
निर्वाचनका क्रममा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रीयताका आधारमा घृणा उत्पन्न गर्ने कार्य गर्न पाइने छैन । कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको चरित्र हत्या गर्न, गराउन वा कुनै तवरबाट डरत्रास तथा धम्की दिन हुँदैन । ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा मात्रै बाँड्न पाइने छ । त्यसबाहेक कुनै प्रकारको पोस्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन, कुनै पनि धार्मिक, पुरातात्त्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न र साउन्ड सिस्टमको प्रयोग गर्न वा गराउन रोक लगाइएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न पाइने छैन । अतः विशिष्ट परिस्थितिमा विशेष प्रयोजनका लागि हुने यो निर्वाचन सफल पारी मुलुकलाई सही निकास दिने अन्तिम अधिकार आममतदाताको हातमा छ । यो अधिकारको विवेकपूर्ण प्रयोगले मात्र मुलुकले सही निकास पाउने छ ।