काठमाडौँ, माघ २१ गते । पहिले पहिले क्यान्सर रोगलाई लुकाइन्थ्यो तर समय बदलिँदै गएपछि क्यान्सर रोग लागेर विजेता क्यान्सरविरुद्धको जनचेतनामा सक्रिय भएर लाग्न थालेका छन् । क्यान्सरलाई जनचेतनाले रोग लाग्नबाट बचाउन सकिन्छ भन्ने उद्देश्यसाथ क्यान्सरको उपचारपछि विजेता भएका जनचेतनामा क्रियाशील हुन थालेका छन् ।
वरिष्ठ गायिका सङ्गीता शाक्य थापालाई १४ वर्षअघि क्यान्सर लागेको थियो । दाहिनेतिरको ग्लान्डमा बिस्तारै सुनिन थाल्यो । ग्लान्ड बिस्तारै बढेर आएपछि चिकित्सककहाँ परीक्षणका लागि जानुभयो । बायोप्सी गर्दा लिम्फोमा क्यान्सर भएको पत्ता लाग्यो । क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठकहाँ गएर उपचार गराउनुभयो । त्योबेला क्यान्सर ठिक भएको थियो । पुनः पाँच वर्षपछि बल्झियो । त्योबेला बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भयो । नेपालमा बोनम्यारो प्रत्यारोपण गर्न सम्भव थिएन । भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा गएर उपचार गराउनुभयो । सात महिना भारतमा बसेर उपचार गर्दा एक करोड रुपियाँभन्दा बढी खर्च भएको अनुभव सुनाउँदै गायिका शाक्यले भन्नुभयो, “भारतमा उपचार गर्दा करोडौँ लाग्ने उपचार नेपालमा सहजै हुनु पर्छ ।” पछिल्लो समय क्यान्सरको सम्पूर्ण उपचार नेपालमा हुनु पर्छ । विदेशमा गएर उपचार गराउँदा करोडौँ खर्च हुने गर्छ । भारतमा गएर उपचार गराएर आएपछि हालसम्म उहाँलाई केही भएको छैन । समय समयमा चिकित्सककहाँ गएर फलोअप परीक्षण गराइरहनुभएको छ । हाल शाक्यले क्यान्सरसम्बन्धी जनचेतना फैलाउँदै आउनुभएको छ । त्यति मात्र होइन, क्यान्सरसम्बन्धी गीत पनि गाउने गर्छु, शाक्यले थप्नुभयो, “क्यान्सर उपचारमा मनोबल सबैभन्दा ठुलो उपचार हो ।”
यस्तै काठमाडौँ क्षेत्रपाटीकी सुजता तुलाधर कंसाकारलाई पाँच वर्षअघि स्तन क्यान्सर भएको थियो । हाल उहाँको क्यान्सर पूर्ण रूपमा निको भएको छ । प्रत्येक छ महिनामा क्यान्सरको फलोअपका लागि जानुहुन्छ । क्यान्सर लागिसकेपछि क्यान्सरविरुद्ध जनचेतनामा सक्रिय हुनुहुन्छ । म आफैँ पनि स्वास्थ्यप्रति धेरै सचेत थिएँ तर सचेत हुँदाहुँदै पनि क्यान्सर लाग्यो ।” आफ्नो क्यान्सरको उपचार नेपालमा नै सम्भव भएको तुलाधरको भनाइ छ । नेपालमा उपचार हुने क्यान्सरका लागि विदेश जानु नपर्ने उहाँको सुझाव छ । हाल उहाँले क्यान्सर सपोर्ट समूहमार्फत क्यान्सरविरुद्धको जनचेतना फैलाउँदै आउनुभएको छ । यी दुई पात्र मात्र हुनुहुन्छ, क्यान्सरविरुद्धको जनचेतनामा लाग्ने क्यान्सर विजेता सयौँको सङ्ख्यामा हुनुहुन्छ ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालमा अपवादबाहेक सम्पूर्ण क्यान्सरको उपचार हुने गरेको दाबी गर्नुभयो । उहाँले नेपाल क्यान्सर अस्पतालमा मात्र वर्षमा तीन हजार नयाँ क्यान्सर रोगी थपिने गरेको जानकारी दिँदै सचेतनामा ध्यान दिनुपर्ने बताउनुभयो । उपचारभन्दा रोकथाममा जोड दिँदै उहाँले रोकथामका लागि जनचेतना आवश्यक रहेको बताउनुभयो ।
उहाँले अस्पतालमा फलोअपमा आउने बिरामी रहेको उल्लेख गर्दै नेपालमा फोक्सोको क्यान्सर सबैभन्दा बढी रहेको बताउनुभयो । महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर रहेको छ । अस्पतलमा दैनिक दुई सय बिरामी ओपिडीमा आउने गर्छन् ।
क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले क्यान्सरको पहिलो चरणमा उपचार भएमा रोग पूर्ण रूपमा निको हुने बताउनुभयो ।
उहाँले क्यान्सरका चार चरणमध्ये शून्यदेखि तीन स्टेजको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र चार स्टेजको क्यान्सरलाई नियन्त्रण गर्न सकिने जानकारी गराउनुभयो ।
क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेले सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर खानपिन, जीवनशैली, बिकीरणको प्रभाव, जीवाणुका कारण र वंशाणुगतलगायत क्यान्सरका मुख्य कारक रहेको बताउनुभयो । नेपालमा पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।
यसैबिच बुधबार विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइँदै छ । क्यान्सरविरुद्धको विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै विश्व क्यान्सर दिवस मनाइन्छ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्वव्यापी रूपमा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । डा. चालिसेले क्यान्सर लाग्दैमा डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा क्यान्सरको पहिचान भएमा पूर्ण रूपमा निको हुने बताउनुभयो ।