हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन ५ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मुस्ताङमा मतदाता शिक्षा विशेष कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले पाँच वटै स्थानीय तहका वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवकलाई तालिमसहित आवश्यक सामग्री दिएपछि स्वंयमसेवक बस्ती र घरदैलोमै पुगेर मतदातालाई प्रत्यक्ष रूपमा सिकाउने छन् । जिल्ला निर्वाचन कार्यालय मुस्ताङकी सूचना अधिकारी लक्ष्मी अधिकारीले स्थानीय तहबाट खटिनुभएका मतदाता शिक्षा अनुगमनकर्तामार्फत पालिकास्तरमा तालिम दिएपछि मतदाता शिक्षाका लागि खटिएको बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयले थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका २५ वटै वडामा बालविकास सहजकर्ता, महिला स्वास्थ्य स्वयंसेविक, सामुदायिक सेवा केन्द्रका परिचालक गरी २५ जना मतदाता स्वंयमसेवक रहेका छन् । मतपत्रमा स्वस्तिक छाप लगाउने, मत बदर नहुने गरी पट्याएर मतपेटिकामा राख्ने लगायत मतदान केन्द्रभित्र मतदाताका हरेक गतिविधिलाई प्रयोगात्मक अभ्यास सहित मतदानको महत्त्वका बारेमा समेत जानकारी दिने निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षा स्वयंमसेवकले घरदैलो र समुदायस्तरमा पुगेर मतदातालाई मतदान कार्यक्रममा मतदानको दिनमा हुने सबैखाले गतिविधिका बारेमा जानकारी गराइने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताउनुभयो ।
विगतमा मतदाता शिक्षा अभियान प्रभावकारी नभएको र सिकाउनेहरू निष्पक्ष नहुँदा समस्या भएको गुनासो समेत आउने गरेकोमा निर्वाचनमा अनुगनलाई विशेष प्राथमिकता दिइएको निर्वाचन अधिकारी ज्ञवालीको भनाइ छ । निर्वाचन अधिकारी ज्ञवालीले भन्नुभयो, ‘‘मतदात शिक्षाले निर्वाचनमा सहभागिता बढाउनुका साथै बदर मतको सङ्ख्या घटाउँछ ।’’
मतदाता शिक्षामा नामावली रुजु गर्नेदेखि लिएर मत खसालेर बाहिर निस्किनेसम्मको मतदाताले गर्नुपर्ने सबै सिकाउने गरिन्छ । वि.सं २०७९ सालमा सम्पन्न प्रतिनिधि निर्वाचनमा १० हजार चार सय ८७ मतदाता रहेकोमा सात हजार दुई सय ५९ मत खसेको थियो भने प्रत्यक्षतर्फ ८७ मत र समानुपातिकतर्फ २ मत बदर भएको थियो । मुस्ताङमा ३९ मतदान स्थलमा कुल ११ हजार ३ सय २८ मतदाता रहेका छन् ।
मुस्ताङमा बदर मत घटाउन मतदाता स्वयंसेवकले घरदैलोमा पुगेर मतदातालाई सिकाउँदै हुनुहुन्छ, चिसोका कारण सुनसान बस्तीहरूमा विस्तारै चहलपहल बढ्न थालेको छ ।