सञ्जयकुमार मिश्र
गौर, फागुन ५ गते । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा रौतहट जिल्ला मा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। रौतहट निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेस का उम्मेदवार अनिलकुमार झा घरदैलो अभियानलाई निरन्तरता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त रहेका छन्।
उम्मेदवार झाले गौर नगरपालिका, राजदेवी नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाका विभिन्न वडामा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरी मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना पक्षमा मतदान गर्न आग्रह गरिरहनुभएको छ।
क्षेत्रीय सभापति श्रीराम राय यादवका अनुसार उम्मेदवार झाले गाउँ–गाउँ र टोल–टोलमा पुगेर जनताको समस्या तथा गुनासो सुन्ने, चुनावी घोषणापत्रबारे जानकारी गराउने तथा विगतमा प्रतिनिधिसभा सदस्य र सङ्घीय मन्त्री रहँदा गरेका विकास निर्माणका कामबारे मतदातालाई जानकारी गराइरहनुभएको छ।
उम्मेदवार झाले आफूले अघि बढाएका केही विकास आयोजना अधुरा रहेकाले ती पूरा गर्न पुनः निर्वाचनमा उम्मेदवारी दिएको स्पष्ट पार्दै पुनः निर्वाचित भए क्षेत्रको विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यसैबिच प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार र तिनका समर्थकहरूले घरदैलो, कोणसभा तथा मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रममार्फत प्रचारप्रसारलाई तीव्र बनाएका छन्।