विष्णुप्रसाद पोखरेल
दमक, फागुन ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन्द्र शाहले काठमाडौँ महानगरमा आफू मेयर हुँदा विदेशी चलखेल तथा हस्तक्षेप रहने गरेको खुलाउनु भएको छ ।
राजधानीको मेयरमा प्रधानमन्त्रीभन्दा कम हैसियत नहुने जनाउँदै उहाँले यस्तो खुलाउनुभएको हो ।झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहनुभएका शाहले सोमबार बिहान झापाको दमकमा घरदैलो कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय समुदायको चलखेल महानगरमा धेरै नै रहेको दाबी गर्नुभयो ।
अन्तर्राष्ट्रिय चलखेलको विषयमा एक मतदाताले प्रश्न गरेपछि उहाँले त्यो आफूले भोगेको बताउनुभयो । कसरी र कसले चलखेल गर्याे भन्ने उहाँले खुलाउनु भएन ।
“काठमाडौँ महानगरमा अन्तर्राष्ट्रिय चलखेल कति भएको थियो त्यो तपाई कल्पना पनि गर्न सक्नुहुन्न,” शाहले भन्नुभयो । फोहोर व्यवस्थापनमा समेत अन्तर्राष्ट्रिय चलखेल रहेको शाहले बताउनुभयो ।
फोहोर व्यवस्थापनको विषयमा धेरै नै हस्तक्षेप भएको शाहको भनाइ छ । त्यो समयको विषयमा धेरैलाई जानकारी भएको शाह बताउनुहुन्छ ।
पछिल्लो समयमा अन्तर्राष्ट्रिय चलखेल बढेको र यो निर्वाचनमा पनि त्यो प्रभाव देखिएको भन्दै मतदाताले गुनासो गर्न थालेका छन् । रास्वपाले आफ्ना वरिष्ठ नेता शाहलाई निर्वाचनपछिको प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको छ ।