• ५ फागुन २०८२, मङ्गलबार

सडक निर्माण नभएको मतदाताका गुनासो

blog

अलपत्र अवस्थामा रहेको मार्तडी–कोल्टी सडक। तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, फागुन ५ गते ।
बाजुरा जिल्ला का विभिन्न स्थानमा सडक स्तरोन्नति तथा कालोपत्रे कार्य पूरा नभएको भन्दै मतदाताले उम्मेदवारसँग गुनासो गरेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गाउँबस्तीमा पुगिरहेका बेला स्थानीयले सडक निर्माण कार्य वर्षौँदेखि अलपत्र परेको विषय उठाएका हुन्।

जिल्लाको मुख्य साँफे–मार्तडी सडकअन्तर्गत बल्दे खण्ड तथा मार्तडी–कोल्टी सडक निर्माण सुरु भएको धेरै वर्ष बितिसक्दा पनि काम सम्पन्न नभएको स्थानीयवासीको गुनासो छ।

बुढीनन्दाका स्थानीय रामबहादुर कार्कीका अनुसार विगतमा उम्मेदवारहरूले स्वास्थ्य, शिक्षा, पुल, सडक र खानेपानीलगायत पूर्वाधार विकासका योजना ल्याउने प्रतिबद्धता जनाउँदै मत मागे पनि मुख्य सडकहरू नै लामो समयदेखि अधुरै छन्।

“मार्तडी–कोल्टी सडक कालोपत्रे सुरु भएको धेरै वर्ष भयो, तर अझै सम्पन्न भएको छैन,” उहाँले भन्नुभयो, “वर्षायाममा पहिरो र हिउँदमा हिमपातका कारण सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या हुन्छ।”

सडक अवरुद्ध हुँदा स्थानीय उत्पादन, विशेषगरी स्याउ, समयमै बजारसम्म पुर्‍याउन नसक्दा किसान मर्कामा पर्ने गरेका छन्। योजना स्वीकृत भए पनि समयमै सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको कार्कीले बताउनुभयो।

त्यस्तै बुढीगङ्गा नगरपालिका अन्तर्गतको बल्दे–आटीचौर सडक कालोपत्रे सुरु भएको झन्डै सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। स्थानीय बहादुर थापाका अनुसार हिउँदमा निर्माण सामग्री जम्मा गरिए पनि वर्षामा बग्ने गरेको छ। “काम सुरु हुन्छ, तर समयमै सकिँदैन,” उहाँले भन्नुभयो।

बाजुराका साँफे–मार्तडी, मार्तडी–कोल्टी, मार्तडी–भौनेरा, बल्दे–आटीचौर र डाब–खप्तड पर्यटकीय सडक अलपत्र अवस्थामा रहेको स्थानीयको भनाइ छ। उम्मेदवार गाउँमा पुग्दा पुराना योजना पूरा नभएको विषयमा मतदाताले प्रश्न उठाउने गरेका छन्।

यता भौतिक पूर्वाधार विकास कार्यालय अछाम ले ठेकेदारलाई सम्झौता अनुसार समयमै काम सम्पन्न गर्न पत्राचार गरिएको जनाएको छ। साँफे–मार्तडी सडक अन्तर्गत बल्दे खण्डमा सडक डिभिजन कार्यालय अछामले काम गरिरहेको छ भने अन्य खण्डमा भौतिक पूर्वाधार विकास कार्यालय अछामले काम अगाडि बढाइरहेको जनाएको छ।

निर्माणको म्याद सकिए पनि काम सम्पन्न नभएकाले ठेकेदारलाई थप एक वर्षको म्याद दिइएको र सोही अनुसार काम भइरहेको कार्यालय प्रमुख जङ्गबहादुर थापाले जानकारी दिनुभयो।