• १६ चैत २०८०, शुक्रबार

हस्तकलाको निर्यातमा समस्या

blog

काठमाडौँ, जेठ २१ गते ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनीमा हस्तकला  चुनौती र अवसर विषयक समूहगत छलफल गरिएको छ। छलफलमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले बजारको माग अनुसारको आपूर्ति गर्न नसक्नु नै हस्तकला क्षेत्रको अहिलेको ठूलो समस्या बताउनुभयो। उहाँले भन्नुभयो, “हस्तकलाको बजार ठुलो छ, परम्परागत काष्ठ तथा धातुका मूर्तिहरूको चीनमा ठूलो माग छ। त्यसबाहेक अन्य एसियाली मुलुकबाट पनि माग बढ्दो छ। हामीले उनीहरूको माग पूरा गर्न नसक्दा मेसिनबाट निर्मित कलाले बजार ओगट्दै छ।”

उहाँले हस्तकला अन्तर्गत ४२ विधालाई समेटेर अगाडि बढिरहेको र त्यस अन्तर्गत फेल्टको निर्यात सबैभन्दा बढी रहेको पनि बताउनुभयो। हस्तकलाका सामग्री बागमती प्रदेशबाट मात्रै ८० प्रतिशतभन्दा बढीको उत्पादन हुने र यो क्षेत्रमा ८० प्रतिशत महिला कामदार रहने गरेको पनि जानकारी दिनुभयो। अहिले हस्तकलाको निर्यातमा विभिन्न समस्याका कारण ३० प्रतिशत कमी आए पनि माग धान्न नसकेको उहाँको भनाइ छ।

कार्यक्रममा रत्न तथा आभूषण महासङ्घका वरिष्ठ केन्द्रीय सदस्य रुद्रबहादुर बराइलीले कच्चा पदार्थको आयात र सहज ढङ्गबाट निर्यात गर्न राज्यबाट नै ठोस नीति नियमको नभएको र व्यवसायी पनि यस सम्बन्धमा एकीकृत नभएकाले गर्दा चुनौती थपिएको बताउनुभयो। हस्तकला क्षेत्रको संवर्धन एवं प्रवर्धनका लागि ऐनको व्यवस्था गर्नुपर्ने, कामदारलाई काम गर्नका लागि सहज वातावरणको सिर्जना गरिदिनुपर्ने तथा मौलिक कलालाई अभिलेखीकरण गर्नुपर्ने जस्ता विषयमा छलफल केन्द्रित थियो। 

यस्तै हस्तकलामा कलापक्षमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो। यसका साथै हस्तकलामा देखिएका चुनौतीलाई एकल प्रयासबाट मात्र सम्बोधन गर्न नसकिने हुनाले सबै एकजुट भएर लाग्नुपर्ने छलफलको निष्कर्ष रहेको थियो। यसैबिच गत शुक्रबार राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०, अन्तर्गत नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजना गरिएको ‘समकालीन कलामा भौतिकता र गतिशीलता’ विषयक कार्यक्रम डा सारा म्यानाटाले विभिन्न कलाकारको कलालाई प्रतिनिधित्व गर्दै आफ्नो प्रस्तुति दिनुभएको थियो।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारी, प्राज्ञ सभा सदस्य महेन्द्र सुनारलगायतका उपस्थिति रहेको थियो।